काठमाडौं । विगत पाँच दिनदेखि बयानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेका चर्चित घुस प्रकरणका पीडित सुजन लामालाई अख्तियारमा कार्यरत नेपाल प्रहरीका अनुसन्धान अधिकृत मोहन थापाले चरम यातना दिएको खुलेको छ ।
बहालवाला मन्त्रीले नै घुस खाएको यस प्रकरणको पटाक्षेप भएपछि अख्तियारले अनुसन्धान सुरु गर्दा अडियो रेकर्ड गर्ने लामालाई समेत बयानको नाममा अख्तियार बोलाएर बिहान १० बजे हाजिर गराई बेलुका ७ बजे छोड्ने गरेको छ ।
लामालाई बयानको लागि भनेर बोलाए पनि बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म नै एउटा कोठामा लगेर थुनेर राख्ने तथा नियमित औषधि समेत खान नदिएर चरम यातना दिएको खुलेको हो ।
यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुख समेत रहेका एसपी थापाको नेतृत्वमा अनुसन्धान हुँदा स्वार्थको द्वन्द्व समेत हुने स्रोतले दाबी गरेको छ । एसपी थापाले कास्कीको नेतृत्व समाल्दा चर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री रवी लामिछानेविरुद्ध परेको पूरक जाहेरी लुकाएर तत्कालीन आईजीपी बसन्त कुँवरलाई समेत झुटो रिपोर्ट गरी संसदीय समितिमा बयान लिन लगाएर फसाएका एसपीले अदालतको आदेशको कार्यान्वयन नगरी मन्त्रीहरूले गरेको भ्रष्टाचारलाई उन्मुक्ति दिई पीडितलाई नै फसाउने षड्यन्त्र गरेको अख्तियार उच्च स्रोतले दाबी गरेको छ ।
भ्रष्टाचार गरेको आरोप लागेका पूर्वमन्त्रीहरूलाई सोधपुछ नै नगरी छोड्ने र पर्दाफास गर्ने आफूलाई चाहिँ अख्तियारका एसपी थापाले विनाकारण अनावश्यक दुःख दिन थालेपछि पीडित लामाले आफूलाई हत्कडी लगाएर राख्न समेत चुनौती दिएका थिए ।