काठमाडौं । हरेक देशको नागरिकले राज्यको कानुनको पालना गर्नु अनिवार्य हुन्छ । शासन प्रणाली चाहे प्रजातन्त्र होस्, लोकतन्त्र होस् वा गणतन्त्र नै किन नहोस् ? जुनसुकै देशमा पनि कानुनी सन्दर्भमा सबै नागरिकलाई एकै किसिमले बाँधिएको हुन्छ । कानुन भनेको कुनै पनि देशको आधार हो र सामाजिक, राजनीतिक, आर्थिक र नैतिक स्थायित्वको मेरुदण्ड हो । त्यसैले राज्यको कानुनलाई तोड्नु, बेवास्ता गर्नु वा यसको विपरीत आचरण गर्नु गम्भीर अपराध मानिन्छ । यदि कसैले कानुन मानेन भने त्यसले केवल कानुनी संकट मात्र ल्याउँदैन, समाजभित्र विद्रोह र असन्तोषको भावना पनि फैलिन थाल्छ । चाँडोतन्त्र हुनु, राज्यको कानुनलाई धज्जी उडाउनु र राज्यको कानुनविपरीत कार्य गर्नु अपराध हो । त्यसैले हरेक नागरिक राज्यको कानुनभन्दा बाहिर जानु हुँदैन, उसलाई कानुनले बाँधेर राख्नै पर्छ । अन्यथा विद्रोह हुनुको साथै असल मानिसमा वितृष्णा पैदा हुने गर्दछ । कानुनले कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन र यस्तो गर्छु भन्ने सोच्नु पनि हुँदैन । यो सबैका लागि मान्य र समान हुनुपर्छ ।
कानुन मिचाहा प्रवृत्ति भनेको कुनै पनि देशमा केवल कुनै व्यक्तिको व्यक्तिगत गल्ती वा महानता होइन । यो सामाजिक अन्याय हो । यसले समाजलाई नै दूषित गराउँछ र राज्यव्यवस्थाप्रति पनि गम्भीर अपमान हो र अपराध पनि हो । त्यसैले जब मानिसले कानुनलाई हातमा लिन्छ, उसले समाज र राष्ट्रलाई नै घात गरेको हुन्छ । जब व्यक्ति वा संस्था कानुनभन्दा माथि आफूलाई ठान्दछन् र यस्तो व्यवहार देखाउँछन्, त्यो देशमा लोकतन्त्र पनि कमजोर हुनुको साथै शासकीय भ्रष्टाचार पनि बलियो बन्दै जान्छ । देशमा भ्रष्टाचार हुनु र कानुनको उल्लंघन हुनु भनेको देशको अन्तर्राष्ट्रियस्तरमा बदनाम हुनु त छँदैछ, यसले हुनेखानेले समाजमा उच्छृंखलता पैदा गर्नुको साथै सोझासादा जनता जहिल्यै पिल्सिने बनाउँछ । किनकि भ्रष्टाचार र मिचाहा प्रवृत्ति समाजमा देखाउनु भनेको भ्रष्ट आचरण गर्नु हो । चाहे त्यो पैसा होस् या पदमा अनि आफ्नो पावरमा ।
अहिलेको वास्तविकता हेर्ने हो भने नेपालमा हिँड्ने बाटोमा होस् या सवारी चलाउँदा, साथै सार्वजनिक स्थलमा अनि सेवा लिने ठाउँमा मिचाहा प्रवृत्ति अत्यन्तै छ । जताततै ठेलमठेल गर्न खोज्ने, लाइनमा बस्न नजान्ने, आफैँलाई हतार हुने, सडकमा गाडी चलाउँदा अनि लोकल सवारीसाधनमा पनि मिचाहा प्रवृत्ति देखिन्छ । पढेको नगरिकले नै आज समाजलाई माथि उठाउन सकेका छैनन् । बाहिरीरूपमा नागरिककै मिचाहा प्रवृत्ति त छँदैछ, अन्य क्षेत्रमा पनि नागरिकले होस् वा राज्य व्यवस्थामा बस्नेले होस्, आफ्नो तर्फबाट गर्ने काम न त समयमा गरेको देखिन्छ न त कानुनको सम्मान गरेर काम गरेको देखिन्छ । त्यसको साथै न त जनताले समयमा न्याय पाएको अनुभूति गर्न सक्छन् । ढिलो न्याय पाउनु भनेको न्याय नपाउनुसरह हो र जनता अन्यायमा बस्नुपर्ने बाध्यता हो ।
आजकाल हामीले टेलिभिजन, पत्रपत्रिका, रेडियो तथा सामाजिक सञ्जालमा हेरौँ वा सुनौँ हरेक दिन भ्रष्टाचारका समाचारहरू प्रशस्त पाइन्छन् । यसले देशको आन्तरिक संरचनालाई मात्र नभई, अन्तर्राष्ट्रिय छविलाई पनि गम्भीररूपमा प्रभावित पारिरहेको हुन्छ साथै नेपाल ट्रान्सपरेन्सी इन्टरनेसनलको नेपालको भ्रष्टाचारको सूचकांक दयालु र लाजमर्दो छ । यसलाई सुधार गर्न सकिएन भने आउने पुस्ताले झन् देशमा शिर ठाडो पार्नसक्ने अवस्था नै नआउला भन्न सकिन्न । नेपालमा अझै पनि आफ्नै पद र पैसाले अधिकारको दुरुपयोग गर्दै आएका छन् । आजको दिनमा पनि पहुँचवालाले सधैँ रोजगारी पाउनु, विभिन्न ठाउँमा छात्रवृत्ति लिन खोज्नु, राज्यबाट सेवा र सुविधा लिन खोज्नु अनि योग्यता भएकाहरूको चाहिँ कदर नहुनुले अवस्था गम्भीर मोडमा पुगेको देखिन्छ । साथै पद र प्रतिष्ठा भएकाहरूले आफ्ना निजी स्वार्थमा अधिकारको दुरुपयोग गर्नुले सोझासादा जनता पछि परिरहेका छन् । यसले गर्दा सर्वसाधारणमा कानुनप्रतिको अविश्वास बढ्दै जान्छ, आक्रोश बढ्दै जान्छ । यो भएको व्यवस्थाप्रति नै वितृष्णा बढ्नुको साथै अराजकताको विकास मौलाउँदै जान्छ, जसले सामाजिक असमानता ल्याउनुको साथै भोलिका दिनमा गम्भीर समस्या पनि निम्त्याउन सक्छ ।
भ्रष्टाचार हुनु भनेको देशमा निको नहुने रोग लाग्नुजस्तै हो । यसले भइरहेको शासन प्रणालीलाई नदेखिने गरी धमिरा लाग्न सक्छ र नष्ट गर्न पनि सक्छ । साथै सेवा प्रवाहलाई पनि अवरुद्ध गर्नुको साथै योग्य मानिसहरूको मनोबललाई कमजोर बनाउँदै लग्छ । जब भ्रष्टाचार मौलाउँछ, तब समाजमा मिचाहा प्रवृत्ति पनि बढ्छ । हुनेले नहुनेलाई पेल्दछ, शोषण गर्दछ । जब समाज अनि राष्ट्र एक समानको हुन्छन्, त्यहाँ द्वेष हुदैन । तर समाज शक्ति र पैसाको आधारमा चल्छ । त्यहाँ शक्तिशालीले आफ्नो अधिकारको दुरुपयोग गर्छन् र सामान्य नागरिकलाई अन्यायमा पार्दछन् र निम्न वर्गका जनता पनि अन्यायको शिकार बन्दछन् ।
भ्रष्टाचार भन्नाले गलत तरिकाले कार्य गर्नु तथा कानुनविपरीत कुनै पनि कार्य गर्नु वा गराउनु हो । गैरकानुनी ढंगले वा नैतिकता नै बेचेर विपरीत कार्य गरी व्यक्तिगत फाइदा लिने कामको बढावा दिनु वा गर्नु नै भ्रष्टाचार भन्ने बुझिन्छ । भ्रष्टाचार केवल पैसामा मात्र सीमित हुँदैन यो त पदको दुरुपयोग गर्नु, नातावादलाई बढावा दिनु, कृपावाद हुनु पनि भ्रष्टाचारकै रूप हुन् । नदेखाईकन गरेका सम्झौता, कमिसन खानु, हिसाबकिताबमा गोलमाल गर्नु वा हिनामिना गर्नु, आफूले सेवा गरिरहेको काममा पक्षपात गर्नु तथा कुनै पनि निर्णय गर्दा आफूलाई फाइदा हुने काम गर्नु तथा अनियमितता गर्नु पनि भ्रष्टाचारकै उदाहरण हुन् । कुनै पनि ठाउँमा कामकाजको लागि जाँदा सानातिना कुरा गर्न वा सानातिना काम गर्न पनि पैसा लिनु, दिइएको कामलाई समयमा कार्यसम्पन्न नगर्नु, नियमअनुसार अघि बढ्ने व्यक्तिलाई अनेक बहानामा ढिलो गर्नु, तर आफन्तलाई वा जो पहुँचमा छन्, तिनका लागि काम गरिदिनुजस्ता क्रियाकलापले पनि भ्रष्टाचार मौलाएको देखिन्छ । यस्ता अवस्थाले आम नागरिकमा निराशा बढ्नुको साथै, आक्रोशित हुने र अविश्वास फैलिने वातावरण बनी कतिपय अवस्थामा होहल्ला भई काम नै ठप्प हुने अवस्था पनि देखिँदै आएको छ । सेवाग्राहीले समयमा सेवा नपाउनु तर पद र पैसाको आधारमा हुनेखानेको ढोकामै सेवा दिनुले कानुनको मिचाहा प्रवृत्ति तथा भ्रष्टाचारलाई बढावा भएको पाइन्छ ।
सारांशमा भन्नुपर्दा, देशमा कानुनको शासन भएको भान जब जनताले महसुस गर्दछन्, तब सबै जनताले समान हक र अधिकार पाउनुको साथै समानरूपमा सेवा पाएको बेला मात्र हुन्छ । यसको लागि राज्य, कर्मचारी, जनता समानरूपमा जवाफदेही हुनुपर्छ । तर, जब मिचाहा प्रवृत्ति हावी हुन्छ र भ्रष्टाचार कानुनी प्रक्रियाभन्दा बलियो देखिन्छ, तब राज्य प्रणाली नै धरापमा पर्ने अवस्था पनि आउँछ । त्यसैले यस्ता विकृति हटाउन नागरिक सचेतता, कानुनी कठोरता, पारदर्शिता र इमानदारीपूर्ण नेतृत्व आजको मुख्य आवश्यकता हो । कानुन त राम्रो छ तर कानुन बनाउनु मात्र पर्याप्त हुँदैन । यसको निष्पक्ष कार्यान्वयन हुनु आवश्यक छ । भ्रष्टाचारमा संलग्नलाई कसैको पहुँच नहेरी कारबाही हुनुपर्छ । यो तेरो र मेरो नभनी कानुनको कठघरामा ल्याउन जरुरी छ । नियम कानुन सबैलाई बराबर हुनुपर्छ । राज्यमा सबैले समान हक–अधिकारले बाँच्न पाउनुपर्छ । कानुनले दिएको मौलिक हकको सबैले बराबररूपमा ग्रहण गर्न पाउनुपर्छ । सबै नागरिकलाई आफ्नो हक र अधिकारको बारेमा सचेत गराइनुपर्छ । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा उत्पीडित वर्गले पनि अवसर पाउनुपर्छ ।
भ्रष्टाचार नहुनका लागि आजको युगमा सबै कामकुराहरू, गाउँदेखि सहर र राज्यसम्मको बजेट तथा निर्णय प्रक्रिया पारदर्शी हुनुपर्छ । अनलाइन प्रणाली सबैतिर हुनु जरुरी छ । डिजिटल रिपोर्टिङको व्यवस्था र गुनासो गर्न पनि सजिलो हुनुपर्छ । सार्वजनिक जानकारी पनि सर्वसाधारण जनताको पहुँचयोग्य हुनुपर्छ । आजको नयाँ युगको प्रविधिको प्रयोग गरी डिजिटल बनाएर अनलाइन ट्र्याकिङ प्रणालीबाट मानव सम्पर्क कम गराएर काम गर्नसकेमा घुसखोरी घटाउन सकिन्छ । पद र पैसाले न्यायको किनबेच हुनु हुँदैन । स्थायी नगद कारोबार कम गरी बैंकिङ माध्यमबाटै पेमेन्ट दिने–लिने व्यवस्था भएमा पनि भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । आज मानिसले नीतिगत भ्रष्टाचार पनि गर्न थालेका छन् । समयमा काम नगर्ने, समयमा अफिस नबस्ने, गुणस्तरीय काम नगरी पैसा असुल्ने, दीर्घकालीन सोच नबनाई काम गरेर पैसा फाल्ने काम गर्ने । त्यसैले कानुनलाई सर्वोपरि ठानेर काम गर्ने÷गराउने, केवल कानुनलाई किताब हो भन्ने नठानेर काम गरेमा र ठूला र सानालाई समान सजाय दिने व्यवस्था भएमा वितृष्णा हटी राज्य राम्रो हुनेथियो ।
नैतिक शिक्षा र देशप्रेम शिक्षादेखि कानुनी शिक्षा विद्यालय तहदेखि नै हुनुपर्छ । साथै नागरिक शिक्षा र नीतिगत शिक्षा अनिवार्य गरिनुपर्छ । नागरिकलाई नीति–नियम र नैतिक शिक्षा दिइयो भने सचेत नागरिकले गलतविरुद्ध आवाज उठाउँछ । तत्कालै जरिबाना र फाइन तथा कारबाहीको व्यवस्था हुनुपर्छ । पत्रकारिता पनि निष्पक्ष हुनुपर्छ । साथै नागरिक समाज पनि तटस्थ भई भ्रष्टाचार र मिचाहा प्रवृत्तिलाई हटाउन यस्ता कुराको भण्डाफोर गर्दै जनतालाई सूचना दिनसकेमा मिचाहा प्रवृत्ति तथा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । साथै राज्यले समान शिक्षा, समान रोजगारको अवसर र युवालाई स्वास्थ्यको सेवा सबैतिर दिन सकेमा र वृद्ध भएपछिको अवस्थामा आर्थिकरूपमा आपत नपर्ने अवस्था ल्याउन सकेमा भ्रष्टाचार रोक्न सकिन्छ । तर मिचाहा प्रवृत्तिलाई त मानिसमा आमूल परिवर्तन आउनु पर्छ । म मात्रै सबै हो र मेरो मात्रै अधिकार छ भन्ने बोध जबसम्म मानिसको दिमागबाट हटाउन सकिँदैन तबसम्म मिचाहा प्रवृत्तिलाई निर्मूल पार्न सकिँदैन, यसको लागि बच्चादेखि नै स्कुलिङले सिकाउन जरुरी छ ।
हामीकहाँ मजबुत कानुन छ, देशको प्रगति, स्थायित्व र समृद्धिको आधार भनेकै मजबुत कानुन हो र यसको पालना गरी न्यायपूर्ण शासन बनाउने र पारदर्शी प्रणाली जानु नै आजको आवश्यकता हो । तर जब मिचाहा प्रवृत्ति र भ्रष्टाचारले ती सबै प्रणालीलाई बिगार्छ, तब देश अराजकतातर्फ जान्छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कानुनको सम्मान हुनुपर्छ । भ्रष्टाचारको नियन्त्रण भएमा देश विकास हुन गाह्रो छैन । यसको लागि हामी सबै मिलीजुली काम गर्नुपर्छ । भलादमीपनले राष्ट्रको मुहार फेरिन्छ भने मिचाहा प्रवृत्तिले दूषित वातावरण बनाउँछ । त्यसैले, नागरिकको सचेतता नै आजको आवश्यकता हो । यदि हामी सबैले आफ्नो ठाउँबाट नै इमानदारीपूर्वक सोच्यौँ, सचेत नागरिकको परिचय दिई काम ग¥यौँ भने हामीले चाहेको समृद्ध, न्यायपूर्ण र शान्त नेपाल बनाउन कुनै ठूलो कुरा हुने छैन । आऔँँ सबै मिली जागौँ, हातेमालो गरौँ, भ्रष्टाचारमुक्त समाजको निर्माण गरी अन्तर्राष्ट्रियरूपमा नेपाललाई भ्रष्ट देश, कानुन मिचाहा देश होइन, भ्रष्टाचारमुक्त अनि सभ्य देशको रूपमा परिचित बनाऔँ । आजैदेखि इमान्दार भएर काम गरौँ ।