काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ८ प्रतिशत ऋणपत्र सफलतापूर्वक बाँडफाँट सम्पन्न भएको छ । बैंकले जारी गरेको १० वर्षको अवधि रही वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुङा डिबेन्चर’ नामको एक अर्ब रुपैयाँ रकमबराबरको १० लाख कित्ता ऋणपत्रहरू निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँट सम्पन्न भएको हो ।
उक्त ऋणपत्र खरिदका लागि उत्साहजनकरूपमा ५ दशमलव ९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली बजारको वित्तीय दृष्टिकोणप्रति उच्च विश्वास प्रतिविम्बित गर्दछ । कुल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआईएमबी एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रही मिति २०८२/०३/३२ देखि २०८२/०४/०४ गतेसम्म निष्काशन गरिएको थियो । उक्त निष्काशनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरूमार्फत उत्साहजनक सहभागिता थियो ।
हालका दिनमा सर्वसाधारण लगानीकर्ताद्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता भइरहेको छ, जसले नेपालको पुँजीबजारप्रतिको सर्वसाधारणको बढ्दो जागरुकता र विश्वासलाई स्पष्टरूपमा उजागर गरेको छ । यस ऋणपत्र निष्काशनको सफलतासँगै बैंकले आफ्नो पुँजी संरचना थप सुदृढ गर्दै देशभरिका ग्राहकहरूलाई अझ प्रभावकारी, भरपर्दाे र नवीन वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ ।