काठमाडौं । एनआईसी एसिया क्यापिटल र जानकी केवल इन्डस्ट्री लिमिटेडबीच सर्वसाधारणमा निष्काशन गर्नुपर्ने सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
क्यापिटलका अनुसार ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । सोही सेवाअन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४, धनुषामा कारोबार कार्यालय रहेको जानकी केवल इन्डस्ट्री लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुन अधीनमा रही सर्वसाधारणमा प्राथमिक सेयर नष्काशन गर्नको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र जानकी केवल इन्डस्ट्री लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ ।
आईएसओ ९००१ः२०१५ र युरोपियन प्रमाणपत्रप्राप्त जानकी केवल इन्डस्ट्री नेपालको पहिलो केवल निर्माता कम्पनी हो । जानकी केवल इन्डस्ट्री नेपालको अग्रणी केवल तथा कन्डक्टर निर्माता कम्पनी हो । जानकी केवल इन्डस्ट्रीबाट उत्पादित केवल तथा कन्डक्टरलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त आरओएचएस, सीई र आईईसी युरोपियन प्रमाणपत्रहरू प्राप्त गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्न सफल कम्पनी हो । हाल जानकी केवल इन्डस्ट्रीले एसीएसआर कन्डक्टर, हाउस वायर, एबीसी केवल, अटो केवल, फ्लेक्सिबल वायरहरू, पावर केवल, इलेक्ट्रोनिक केवलहरू उत्पादन गरी सहज र सरलरूपमा आम उपभोक्तामाझ उपलब्ध गराउँदै आइरहेको छ ।
एनआईसी एसिया क्यापिटलले आईडिया टु आईपिओ सेवाअन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई सम्पर्क गर्न सकिनेछ ।