काठमाडौं । काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) र जापानको टोनो सहरबीच पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा विद्यार्थी आदानप्रदानका लागि त्रिपक्षीय सहकार्य सम्झौता भएको छ ।
सम्झौतापश्चात नेपाली विद्यार्थीहरूलाई जापानमा इन्टर्नसिपको अवसर प्रदान गर्नुका साथै दुई देशबीच सांस्कृतिक आदानप्रदान र मानव संसाधन विकासमा नयाँ आयाम थप्नेछ । सम्झौताको मुख्य उद्देश्य नै नेपाली विद्यार्थीहरूलाई जापानी आतिथ्य सत्कार उद्योगको प्रत्यक्ष अनुभव दिलाउनु हो । यसबाट नेपाल र जापानबीच अन्तर्राष्ट्रिय आदानप्रदान र बहुसांस्कृतिक सहअस्तित्वलाई प्रवद्र्धन हुने जनाइएको छ । यसले भविष्यमा जापानमा विदेशी मानव संसाधन स्वीकार गर्ने आधार तयार पार्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
सम्झौतामा गेट कलेज, टोनो सिटी र टोनो कं, लिमिटेडका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । टोनो सिटीका मेयर काजुहिको टाडाले यस सहकार्य ‘अत्यन्त अर्थपूर्ण’ रहेको बताए । उनका अनुसार यसले नेपालमा पर्यटन र आतिथ्य सत्कार क्षेत्रमा समर्पित गेटका विद्यार्थीहरूलाई जापानमा व्यावहारिक अनुभव लिने अवसर प्रदान गर्छ । टोनो कं., लिमिटेडका सीईओ सुकी सुजुकीले नेपालको गेट कलेज र टोनो सिटीसँगको ऐतिहासिक इन्टर्नसिप सम्झौतालाई टानोको पर्यटन विकासका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरिन् । सुजुकीले ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटनको पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय दृष्टिकोण भएका मानव संसाधनको विकास र बहुसांस्कृतिक समझदारीलाई बढावा दिनु आवश्यक रहेकोमा जोड दिइन् । यो सम्झौतापछि गेटका विद्यार्थीहरूले जापानको टोनो सहरमा पर्यटन, आवास र आतिथ्य सत्कार क्षेत्रमा इन्टर्नसिपका अवसरहरू प्राप्त गर्ने छन् ।