कञ्चनपुर, निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुगेको आजसम्म पनि अपराधीको पहिचान हुन सकेको छैन। २०७५ साल साउन १० गते साथीको घर गृहकार्य गर्न गएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मलाको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो। घटना भएको दिनदेखि नै अनुसन्धानमा जुटेको प्रहरी प्रशासन हालसम्म निष्कर्षमा पुग्न असफल रहँदा पीडित परिवार अझै न्यायको प्रतीक्षामा छ।निर्मलाका गृहनगरकै नेता तथा हालका गृहमन्त्री रमेश लेखक एक वर्षअघि असार ३१ गते पदमा नियुक्त भए। उनले गृहमन्त्री बन्नुअघि प्रतिपक्षी रहँदा घटनामा संलग्नलाई राज्यको संरक्षण रहेको भन्दै सडकमा उत्रिएर विरोध समेत गरेका थिए। तर उनी स्वयं गृहमन्त्री बनेको एक वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न नसक्दा आमजनता र पीडित परिवारको आस्था फेरि क्षीण हुँदै गएको छ। निर्मलाकी आमा दुर्गादेवी पन्तले निराशा पोख्दै भनिन्,"पालोपालो गरेर सबै सरकारमा पुगे। तर छोरीले न्याय पाइन। अब कसैमा विश्वास छैन। पहिले–पहिले त प्रहरी आउँथे, अचेल त कोही पनि आउँदैनन्।"पाँच गृहमन्त्री, पाँच प्रहरी प्रमुख फेरिए निर्मला हत्या अनुसन्धानका क्रममा हालसम्म पाँच गृहमन्त्री र पाँच प्रहरी महानिरीक्षक फेर्दासमेत ठोस परिणाम आउन सकेको छैन। गृहमन्त्रीको जिम्मेवारीमा रामबहादुर थापा (बादल), बालकृष्ण खाण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ हुँदै हाल रमेश लेखक छन्। यसबिचमा केन्द्रदेखि स्थानीय तहसम्मको प्रहरी संयन्त्र, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोली र अन्य संयन्त्र खटिएपनि अनुसन्धान अझै निष्कर्षमा पुगेको छैन।