काठमाडौं । विगतमा खर्च कटौती र बैंकिङ सेवा तथा पहुँच विस्तारको लागि भन्दै बैंक तथा फाइनान्स कम्पनीहरूले सञ्चालनमा ल्याएका शाखारहित सेवा केन्द्रहरू बोझ बन्दै गएका छन् । पछिल्लो समय प्रविधिको प्रयोगसँगै मोबाइल र इन्टरनेट बैंकिङको प्रयोग बढ्दै जाँदा शाखारहित सेवा केन्द्रको संख्या घट्दै गएको हो ।
मोबाइल र इन्टरनेट बैंकिङको तुलनामा शाखारहित सेवा केन्द्र अलिक झन्झटिलो र खर्चिलो हुुन्छन् भने पछिल्लो समय शाखारहित सेवाग्राहीको संख्या समेत निरन्तर घट्दै गएको छ । यसले पनि शाखारहित सेवाकेन्द्र बैंक तथा फाइनान्स कम्पनीहरूको लागि बोझ बन्दै गएको देखिएको छ ।
विगतमा बैंकहरूले वित्तीय पहुँच विस्तारका लागि भन्दै शाखारहित सेवा केन्द्र खोलेका थिए । तर अहिले सबै क्षेत्रमा इन्टरनेटको पहुँचले मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ता संख्या बढ्दा शाखारहित सेवाग्राहीको संख्या घटेको हो । गत जेठ मसान्तसम्ममा शाखारहित सेवा केन्द्रको कुल संख्या घटेर आठ सय ८० मा झरेको राष्ट्र बैंककै तथ्यांकले देखाएको छ । कुुलमध्ये वाणिज्य बैंकहरूमा आठ सय ६३ र विकास बैंकहरूमा १७ वटा छन् भने फाइनान्स कम्पनीहरूमा यस्तो संख्या शून्य छ । २०८१ को जेठ मसान्तमा शाखारहित सेवा केन्द्रको कुल संख्या एक हजार एक सय ४८ थियो । जसमध्ये वाणिज्य बैंकहरूमा एक हजार एक सय ३१ र विकास बैंकहरूमा १७ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ को जेठ मसान्तसम्ममा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रका कुल ग्राहक संख्या पनि घटेर तीन लाख नौमा खुम्चिएको छ । सोमध्ये वाणिज्य बैंकहरूमा दुई लाख ७६ हजार दुई सय ८९ र विकास बैंकहरूमा एक हजार २७ रहेको छ । २०८१ जेठ मसान्तमा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रतर्फको कुल ग्राहक संख्या तीन लाख एक हजार छ सय ३८ रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरूमा तीन लाख नौ र विकास बैंकहरूमा एक हजार छ सय २९ रहेको थियो ।
नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या झण्डै तीन करोड पुगेको छ । । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ को जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको कुल संख्या दुई करोड ७४ लाख ६४ हजार नौ सय ९६ पुगेको छ । यो संख्या २०८१ जेठ मसान्तको तुलनामा ३० लाखले बढी हो । २०८१ जेठ मसान्तमा बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङ प्रयोगकर्ताको कुल संख्या दुई करोड ४३ लाख ६२ हजार सात सय ४६ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ को जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरूमा मात्र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ३५ लाख ४८ हजार सात सय २२ रहेको छ । यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरूमा यस्तो संख्या क्रमशः ३६ लाख २६ हजार दुई सय ११ र दुई लाख ९० हजार ६३ रहेको छ । २०८१ जेठ मसान्तमा भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या क्रमशः दुई करोड नौ लाख २३ हजार चार सय ८२, ३२ लाख १६ हजार सात सय ६० र दुई लाख २४ हजार पाँच सय ३४ रहेको थियो ।
२०८२ जेठ मसान्तसम्ममा नेपालमा इन्टरनेट बैंकिङ ग्राहकको कुल संख्या भने २६ लाख ६५ हजार एक सय ४३ रहेको छ । जसमध्ये वाणिज्य बैंकमा २० लाख ५१ हजार छ सय ४५, विकास बैंकहरूमा पाँच लाख ९५ हजार दुई सय ९५ र फाइनान्स कम्पनीहरूमा १८ हजार दुई सय तीन रहेका छन् ।
२०८१ जेठ मसान्तममा भने यस्तो ग्राहक संख्या १९ लाख ४५ हजार सात सय ३६ रहेको थियो । जमध्ये वाणिज्य बैंकहरूमा १३ लाख ६१ हजार ४४, विकास बैंकहरूमा पाँच लाख ६९ हजार एक सय २२ र फाइनान्स कम्पनीहरूमा १५ हजार पाँच सय ७० रहेको थियो ।