स्याङ्जा । जिल्लास्थि बिरुवा गाउँपालिका वडा नं. ५ किचनासकी एकल महिला नानीमाया बिकलाई नेपाली काँग्रेसले घर उपहार दिएको छ ।
नेपाली काँग्रेस बिरुवा गाउँ कार्यसमितिको अगुवाईमा निर्माण भएको घर बीपी स्मृति दिवसको सन्दर्भ पारेर उनलाई हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संघीय सांसद राजु थापाले एक कार्यक्रमका बीच बिकलाई घरको चाबी हस्तान्तरण गरेका थिए । आर्थिक अभावका कारण वर्षौँदेखि छाना चुहिने जीर्ण घरमा बस्न बाध्य भएकी बिक काँग्रेसले बनाइदिएको नयाँ घरमा बस्न पाएपछि खुसी भएकी छन् । ‘धेरै वर्षदेखि भत्किन लागेको पुरानो घरमा बस्न बाध्य थिएँ’ उनले भनिन् । कार्यक्रममा सभापति थापाले आफ्नै लगानीमा घर बनाउन नसक्नेहरूलाई घर बनाइदिने योजना स्याङ्जा काँग्रेसको रहेको बताए । तीन लाख ५० हजार रुपैयाँ खर्च गरी बिरुवामा नानीमाया विकको घर निर्माण गरिदिएको नेपाली काँग्रेस बिरुवाका सभापति डोलराज पोख्रेलले बताए । दुई कोठा र शौचालयसहितको घर झण्डै आठ महिना लगाएर काँग्रेसका कार्यकर्ताहरूले निर्माण गरेका हुन् ।
बिरुवामा जस्तै भीरकोटमा पनि नेपाली काँग्रेसले विपन्न माझी परिवारलाई नयाँ घर निर्माण गरिदिएको छ । नेपाली काँग्रेस भीरकोट नगरकार्यसमितिले वडा नंं. ६ को चिउरेनीमा प्रेम माझीको परिवारका लागि नयाँ घर बनाइदिएको हो । यो घर आगामी भदौ २४ गते वीपी जयन्तीको अवसरमा हस्तान्तरण गरिने भीरकोट नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) ले बताए । उनका अनुसार पक्की जस्तापाताले छाएको बरन्डासहितका दुई कोठे घर निर्माण गरिएको छ । काँग्रेसले नयाँ घर बनाइ दिएपछि यहाँको माझी परिवार हर्षित भएका छन् । यसअघि उनीहरू पौवामा बस्दै आएका थिए ।