काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७औँ वार्षिकोत्सव मनाएको छ । विसं २०६५ साउन ९ गते यो बैंक स्थापना भएको थियो । गत शुक्रबार बैैंकिङ सेवाकोे १७ वर्ष पूरा गदै १८औँ वर्षमा प्रवेश गरेको हो ।
कमलपोखरीस्थित प्रधान कार्यालयमा बैंकले वार्षिकोत्सव मनाएको थियो । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालकहरू र कर्मचारीवर्गको उपस्थिति थियो । बैंकले वार्षिकोत्सवकै दिन एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ । यसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरूलाई बैंकिङ जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार यसले डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको छ । त्यस्तै, बैंकले इन्टर बैंक टेलर क्यूआर सेवा सुरु गरेको छ । यस सेवामार्फत खाता नभएका व्यक्तिहरूले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ एप वा खल्ती वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहजरूपमा नगद झिक्न सक्नेछन् । यो सेवा विशेषगरी एटीएम वा सम्बन्धित शाखा पायक नपर्ने अवस्थाहरूमा निकै उपयोगी हुने बैंकको भनाइ छ ।
वार्षिकोत्सवको अवसरमा, बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ । तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुनेछ । राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ । यस्तै, ई–नेबल नेपालसँग मिलेर १७ जना शारीरिक तवरले फरक बालबालिकालाई थ्रिडी प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ । साथै, हरियाली प्रवद्र्धनका लागि लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १७ सय वृक्षारोपण गरिने घोषणा गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले ज्योतिज गट ट्यालेन्टको दोस्रो संस्करण आयोजना गर्दै कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभालाई प्रोत्साहन गरेको थियो । विविध सिर्जनात्मक तथा कलात्मक प्रस्तुतिमार्फत सम्पन्न प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई बैंकका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सहभागी सबैलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । यसै अवसरमा बैंकले आफ्नो संस्थागत नारा पनि सार्वजनिक गरेको छ । बैंकको मूल उद्देश्य, ध्येय र मान्यताको दर्पणको रूपमा सिर्जनात्मक र रचनात्मक ढंगले सम्पूर्ण सरोकारवालाहरूलाई सन्देश दिने हेतुले उक्त संस्थागत नारा सिर्जना गरिएको हो । उक्त नाराले बैंकको पहिचान, मूल्य मान्यता, ध्येय र दूरदृष्टिलाई सङ्गीतमार्फत जीवन्तरूपमा प्रस्तुत गर्दै कर्मचारी, ग्राहक तथा साझेदारहरूसँगको सम्बन्धलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ ।
वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा करिब ५५ जना कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका थिए । साथै बैंकले वार्षिकोत्सवको अवसरमै आयोजित निशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरमा बैंकका कर्माचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरतरूपमा कार्यरत कर्मचारीहरूलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष खड्काले बैंकको १७ वर्षको सफल यात्रामा साथ दिने ग्राहक, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे । आगामी दिनहरूमा पनि यस्तै साथ र समर्थनको अपेक्षा गर्दै उनले बैंक सामाजिक समृद्धि र कर्मचारी विकासमा निरन्तर क्रियाशील रहेको उल्लेख गरे ।
त्यसैगरी, समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्वअध्यक्षहरू, कर्मचारी, सेयरधनी र ग्राहक वर्गहरूलाई आभार व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीकी कार्यकारी प्रमुख डा. रीता गुरुङले बैंकले कठिन समयदेखि साथ दिएकोमा आभार व्यक्त गर्दै कञ्चनरुपका नागरिकलाई दृष्टिको उपहारले प्रदान गर्दै आत्मनिर्भर र सम्मानपूर्ण जीवन जिउनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । साथै राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक सञ्जय झाले ‘न्यानो नानी’ परियोजनामा निरन्तर साथ दिएकोमा ज्योति विकास बैंकलाई धन्यवाद दिएका थिए । नेपाली इन्जिनियरहरूले विकास गरेको जीवनरक्षक उपकरणलाई दूरदराजका क्षेत्रसम्म पु¥याउने यो प्रयासले नवजात शिशुहरूको जीवनरक्षा मात्र नभई, वैज्ञानिक समाधानमार्फत समाज परिवर्तन गर्न सकिने सम्भावनाको स्पष्ट उदाहरण भएको उनले बताए ।
त्यसैगरी ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले ज्योति विकास बैंकसँगको सहकार्यलाई स्वागत गर्दै थ्रीडी प्रविधिबाट निर्मित कृत्रिम हातले बालबालिकाहरूको आत्मबल बढाउने र उनीहरूलाई स्वतन्त्र तथा सम्मानजनक जीवनयापनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे । लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बसु गौतमले सातै प्रदेशमा वृक्षारोपण गर्ने बैंकको निर्णयको प्रशंसा गर्दै यो पहलले वातावरणीय सन्तुलन कायम गर्न मात्र होइन, भावी पुस्ताका लागि हरियो र स्वस्थ नेपाल निर्माणमा टेवा पुग्ने उल्लेख गरे ।