चन्द्रपुर (रौतहट) । निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । जुडिबेलाका दुई हजार ५०० घरका करिब १० हजार नागरिकलाई सो आयोजनाले शुद्ध पानी उपलब्ध गराउने जनाइएको छ ।
चन्द्रपुर नगरपालिकाका अन्य नौवटै वडामा खानेपानी आयोजना सञ्चालनमा आएको भएता पनि वाड नं २ जुडिबेलामा अहिलेसम्म शुद्ध खानेपानीको पहुँच पुगेको छैन । २०७२ सालबाट निर्माण सुरु भएको उक्त आयोजनाको अहिलेसम्म ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको सर्लाहीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आयोजना सुरु भएको १० वर्ष बित्दा पनि सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले बताए ।
“यस क्षेत्रका नागरिकले ३० देखि ५० फिटमुनिको आर्सनिकयुक्त पानी पिइरहेका छन्”, उनले भने, “सङ्घीयतामा कार्यान्वयनमा पहिलादेखि नै यो आयोजना सुरु भएको हो, सङ्घीयतामा गएपछि यो आयोजना न सङ्घीय सरकारको ध्यानमा गयो न त प्रदेशको प्राथामिकतामा नै पर्यो ।”
जुडिबेलावासीलाई शुद्ध पानी खुवाउनका लागि विभिन्न निकायमा धाइरहेको पनि उनले दुःखेसो गरेका छन् । करिब दुई सय घरलाई सिधै मोटरबाट ट्याङ्कीमा जम्मा नगरिकन पानी पठाइरहेको उनले जानकारी दिए ।
यस वडाको घरघरमा धारा पुर्याउनका लागी अझै करिब ३५ किलोमिटर मेनलाइन पाइपको आवश्यकता रहेको सोही समितिका सदस्य टेकनाथ खरेलले जानकारी दिए । फूलबारीबाट वनटोल र रैयाटोलसम्मका नागरिकको घरघरमा पानी पुर्याउनका लागि मेनलाइनको पाइप अत्यवश्यक रहेको उनले राससलाई बताए ।
यो आयोजनाबाट मात्र यहाँका नागरिकलाई खानेपानी नपुग्ने हुँदा अर्को फेरी खानेपानीको योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको खरेलले सुझाव दिएका छन् । यस वडामा जनगणना २०७८ अनुसार नौ हजार ९८२ जनसङ्ख्या रहेको छ । उक्त जनगणनाअनुसार दुई हजार ४८ घरपरिवार जनाएको भएता पनि हालसम्म सो वडामा दुई हजार ५०० भन्दा बढी घर रहेको वडाध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/८१ सम्म उक्त आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको सो आयोजना हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर विवेक झाले जानकारी दिए । अहिलेसम्म जुडिबेला खानेपानी आयोजनामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भएको भएता पनि ट्याङ्की निर्माण गर्ने ठेकेदारको ५४ लाख भुक्तानी हुन नसकेको इञ्जिनियर झाले बताए ।
आयोजनाअन्तर्गत डिपबोरिङ जडान, कार्यालय भवन निमार्ण, विद्युतीकरण, पम्पहाउस निर्माण तथा करिब २७ किलोमिटर मेनलाइनको पाइप गाडिसकिएको उनले जानकारी दिए । उनका अनुसार बजेट अभावका कारण मेनलाइनको पाइप खरिद गर्न नसक्दा काम ठप्प भएको छ । उनले भने, “बजेट माग गरिए पनि आउने नआउने ठेगान छैन । बजेट समयमा नै आउने हो भने काम सम्पन्न गर्न सकिन्छ । ” यस आयोजना सम्पन्न गर्नका लागि अझै अनुमानित दुई करोड बजेट लाग्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई गत भदौ १४ गते पठाएको पत्रमा उल्लेख गरेको छ ।