नवलपुर (नवलपरासी) । भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एकमात्र त्रिवेणी भन्सारमा आवश्यक पर्ने क्वारेनटाइनको निर्माण नहुँदा हालसम्म निकासी पैठारी हुनसकेको छैन । छ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ ।
फागुन २०७६ अगाडि यस भन्सार भैरहवा भन्सार कार्यालयको छोटी भन्सारको रूपमा रहेको थियो । २०७६ साल फागुनमा मूल भन्सारको मान्यता पाएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको यस भन्सारमा हालसम्म क्वारेनटाइन निर्माण हुन नसक्दा मालसामान निकासी पैठारी शून्य छ । सङ्घीय सरकारको निर्णयअनुसार मूल भन्सारको मान्यता पाएको यस भन्सारमा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा भारततर्फ पठाउने मालसामान र भारतबाट नेपाल भित्रिने मालसामानको अवस्था शून्य रहेको भन्सार कार्यालयले जनाएको छ ।
त्रिवेणी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामराजप्रसाद चौरासियाले भन्सारको स्तरोन्नतिसँगै यहाँ प्लान्ट क्वारेनटाइन, खाद्यान्न क्वारेनटाइन, पशु क्वारेनटाइनलगायत पूर्वाधार निर्माण हुनुपर्नेमा त्यस्तो हुन नसकेको जानकारी दिए । क्यारेनटाइन नहुँदा त्रिवेणी भन्सार पर्यटक नाकाका रुपमा मात्र रहेको अधिकृत चौरासियाको भनाइ छ ।
“भारतबाट नेपाल घुम्न आउने पर्यटकका सवारीसाधनलाई अस्थायी नम्बर दिनेबाहेकका अरु काम हामीले पाएका छैनौँ”, उनले भने, “भारततर्फ बाल्मीकि नगरमा भारतले क्वारेनटाइन बनाएको छ, तर हाम्रोमा नहुँदा निकासी पैठारी शून्य भएको हो ।”
बाल्मीकि नगरले समेत त्रिवेणी भन्सारमा पनि क्वारेनटाइन बनाउनुपर्ने जनाउँदै त्रिवेणी भन्सारबाट केन्द्रसम्म पत्राचार गरेको उल्लेख गर्दै उनले यहाँ क्वारेनटाइन नबन्दा सरकारले यो नाकाबाट हुने राजस्वको आम्दानी गुमाइरहेको बताए । खाद्यान्न, बोटबिरुवा तथा पशुचौपाया परीक्षण गर्ने र राख्ने छुट्टाछुट्टै क्वारेनटाइन निर्माण गरेर निकासी पैठारीको वातावरण सृजना गर्नका लागि आफूहरुले भन्सार विभाग हुँदै नेपाल सरकारलाई आग्रह गरिरहेको उनको भनाइ छ ।
त्रिवेणी भन्सार कार्यालयले गत अस्थायी पैठारीबाट मात्र पनि आव २०८१/८२ मा करिब एक करोड ८० लाख राजस्व सङ्कलन गर्न सफल भएको चौरासियाले बताए । कार्यालयले लक्ष्यको तुलनामा ७४ दशमलव छ प्रतिशतमात्र प्रगति हासिल गरेको उनको भनाइ छ । कार्यालयले गत आवमा दुई करोड ४० लाख १९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा एक करोड ७९ लाख २८ हजारमात्र राजस्व सङ्कलन गर्न सफल भएको उनले जानकारी दिए ।
गत आवमा सबैभन्दा बढी राजस्व माघमा असुली भएको बताउँदै चौरासियाले माघमा ४० लाख २६ हजार राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको जानकारी दिए । त्यस्तै, फागुनमा १७ लाख ७२ हजार, असारमा १६ लाख ६२ हजार, जेठमा १५ लाख ६७ हजार, पुसमा १४ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको चौरासियाले बताए ।
साउनमा ११ लाख ७१ हजार, वैशाखमा ११ लाख ५७ हजार, चैतमा ११ लाख ४२ हजार, कात्तिकमा ११ लाख १६ हजार, भदौमा १० लाख ३३ हजार, मङ्सिरमा नौ लाख ७४ हजार तथा असोजमा आठ लाख २० हजार राजस्व सङ्कलन गर्न त्रिवेणी भन्सार कार्यालय सफल भएको कार्यालय प्रमुख चौरासियाले जानकारी दिए ।