काठमाडौं । रोटरी क्लबले ‘रोटरी वृक्षरोपण दिवस’ मनाउने क्रममा शनिबार काठमाडौं, दक्षिणकाली नगरपािलकास्थित सोखेलमा वृक्षरोपण गरेको छ ।
रोटरी क्लब अफ राजधानी र रोटरी सामुदायिक संस्था दक्षिणकालीको संयुक्त प्रयासमा एक सय ३५ वटा बिरुवा रोप्ने काम भएको हो । क्लबका दक्षिणकालीका प्रतिनिधि रामकृष्ण बस्नेतको नेतृत्वमा एबोगाडो, सुन्तला, मुन्तला, जुनार, कागती, जापानिज आरु, जापानिज नासपाती, पिकानट, मेकाडेनियानट, आरुपखडा, साबर सुप, अञ्जीर, आँप, आलमोनलगायत फलफूलका बिरुवा रोपिएको हो । स्थानीयको समेत सहभागिमा फलफूलका साथै सजवाटका बिरुवाहरू पेन्सिल धुपी, गोल्डेन धुपी, पारिजात, बुद्धचित्तलगायत बिरुवाहरू लगाइएको बस्नेतले जानकारी दिए । हरियो वन नेपालको धन भन्ने मूल नाराका साथ सोखेलस्थित वृक्षरोपण गरिएको उनको भनाइ छ ।
स्थानीयवासी सनत बस्नेतले आफनो ठाँउमा वृक्षरोपण गर्न आउने रोटरी क्लबको सदस्यहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । बस्नेतले उनले स्थानीयको नाताले बिरुवालाई सम्बर्द्धन प्रवर्द्धन र संरक्षण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रचण्ड बस्नेतले वृक्षरोपण कार्यक्रम वातावरण राम्रो बनाउने काम मात्र नभई स्थानीयको सहभागिता समेत जुटाउने प्रेरणादायी काम भएको बताए ।
रोटरीले हरियो वन नेपालको धन शीर्षकअन्तर्गत देशभर उक्त कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा शनिबार सोखेलमा उक्त कार्यक्रममा सञ्चालन गरेको हो । कार्यक्रममा स्थानीय शिक्षिका लीला बस्नेत, राजकुमार केसी, रामेश्वर बस्नेत, प्रशान्त केसी र सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।