काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) लाई नेपालका लागि विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधन भएको बताएका छन् ।
चीनको साङ्घाई वर्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले एआईका उपलब्धिको पहुँच र समानताको वकालत गरेका हुन् । सञ्चारमन्त्री गुरुङले भने, ‘एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनुपर्छ । हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङ शक्ति, ओपन मोडल र डेटा सेटहरूको आवश्यकता छ । यसमा अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा छ ।’
सम्मेलनअन्तर्गत विश्वव्यापी एआई शासनसम्वनधी उच्चस्तरीय बैठकमा उनले पारदर्शिता, समावेशिता, जवाफदेहिता र एआईको गैर–सैनिकीकरणलाई प्रवद्र्धन गर्ने संयुक्त राष्ट्रसङ्घ नेतृत्वको चार्टर्डलाई समर्थन गर्ने बताए । ‘एआईले हाम्रो अर्को पुस्तालाई सशक्त वनाउनुपर्छ । हामी विश्वव्यापीरूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवद्र्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्दछौँ’, उनले भने । मन्त्री गुरुङले एआईको विकासका लागि नेपालको दृष्टिकोण, समावेशी तथा मानव–केन्द्रित रहेको बताए । उनले नेपाल डिजिटल छलाङको सीमामा उभिएको र यससम्वनधी नीति अन्तिम चरणमा रहेको उल्लेख गर्दै उक्त नीतिले राष्ट्रिय प्राथमिकतासँग तारतम्य मिलेको समावेशी र नैतिक ‘एआई इकोसिस्टम’को परिकल्पना गरेको बताए ।
मन्त्री गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै भने, ‘नेपालले अन्तर्राष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशमा नवप्रवर्तन हबहरू सुरु गर्नेछ ।’ शासन, सार्वजनिक सेवा, विपद् प्रतिकार्य, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवद्र्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य वनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने लक्ष्य रहेको उनले सुनाए । यसैगरी उनले नेपालले एआई विलासिता नभई रुपान्तरणका लागि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘हाम्रा लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो । हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौँ ताकि परम्परागत विकासका अवरोधलाई नाघेर अगाडि बढ्न सकियोस्’, उनले भने, ‘प्रविधिमार्फत सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस् ।’ यस्तै, उनले मानवताविना प्रविधि अराजकता र नैतिकताविना नवप्रवर्तन जोखिम हो भन्ने कुराको मनन् गर्नुपर्नेमा जोड दिए ।