काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध आफैँ आयोगमै उजुरी परेको छ। आफूलाई सार्वजनिक सरोकारका अभियन्ता बताउने युवराज पौडेल (सफल) ले आइतबार आयोगमा उपस्थित भई प्रमुख राईविरुद्ध लिखित उजुरी दर्ता गराएका हुन्।पौडेलले उजुरीमा वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिदमा भएको व्यापक घोटाला, र नक्कली भुटानी शरणार्थी काण्डमा राईको संलग्नता रहेको दाबी गरेका छन्। उनीमाथि यी प्रकरणहरूमा दुई दशकदेखि निरन्तर विवादास्पद भूमिका खेलेको र जिम्मेवार तहमा रहेर अनियमितता ढाकछोप गरेको आरोप लगाइएको छ। उजुरीमा भनिएको छ, “सार्वजनिक निकायमा बसेर करोडौँ रुपैयाँ अनियमित भुक्तानी गर्ने निर्णय लिने, माफी दिनेमार्फत अपराधीलाई उन्मुक्ति दिने र राज्य संयन्त्रको दुरुपयोग गर्ने कार्यमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याइनुपर्छ।”पौडेलले उजुरीमार्फत तत्कालीन आर्थिक सचिवका रूपमा राईको भूमिकाबारे छानबिन गर्न र आवश्यक परे कानूनी कारबाही थाल्न माग गरेका छन्। उनले अख्तियारको नेतृत्वमा बसेर आफैँमाथि मुद्धा दर्ता हुन नदिएको, पुराना मुद्धा रोकिएको, र मुद्दालाई उल्ट्याउने प्रयास भएको दाबी गरेका छन्।यस उजुरीको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद्का विभिन्न समितिहरू, र गृहमन्त्रालयमा समेत पठाइएको जनाइएको छ।