काठमाडौं । नेपाली काँग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोग लगाउन माग गरेकी छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै पन्तले देशको मूल समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता दिनप्रतिदिन बढ्दै गएको बताइन् । “सदाचारको संस्कृतिको हत्या गर्दै, भ्रष्टाचारलाई प्रोत्साहन गर्ने वातावरण बनाइएको छ,” उनले भनिन् । उनले राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास घट्दै गएको, राजनीतिक दलबीचको अविश्वास गहिरिँदै गएको र सेवा प्रदायक तथा सेवाग्राहीबीच पनि विश्वास संकट देखा परेको टिप्पणी गरिन् ।"सेवाग्राहीले सेवा सहज रूपमा प्राप्त गर्न सक्दैनन्, टेबलमुनिबाट कारोबार हुने गुनासो सर्वत्र सुनिन्छ," पन्तको भनाइ थियो । सांसद पन्तले वाइडबडी विमान खरिद प्रकरणमा प्रमुख आयुक्त राईले भूमिका खेलेको भए पनि अख्तियारले उनीविरुद्ध अभियोजन नगरेको विषयमा विशेष अदालतले नै प्रश्न उठाइसकेको स्मरण गराउँदै, उनको भूमिकाबारे संसद र मन्त्रिपरिषद्ले स्पष्ट धारणा दिनुपर्ने माग गरिन् । साथै, घुसकाण्डमा मुछिएका मन्त्रीहरू खुलेआम हिँडिरहेको भन्दै सरकारले मौनता तोड्नुपर्ने आवश्यकता औंल्याइन् ।