काठमाडौं । ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सम्बन्धी प्रविधि उपकरण खरिदमा भ्रष्टाचारसम्बन्धी प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तीन लाख धरौटी बुझेर झालाई रिहा गर्ने आदेश दिएको थियो । अदालतको मागबमोजिम धरौटी बुझाएर झा रिहा भएका हुन् ।
यस प्रकरणमा तत्कालीन सञ्चारमन्त्री एवम् कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाउपर तीन अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०८१ फागुनमा विशेष अदालतले झासहित तीन जना यस प्रकरणमा दोषी ठहर भएका थिए ।