काठमाडौं । युएईस्थित नेपाली दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने भएको छ । विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाउने भन्ने गुनासो सुनिएको सन्दर्भमा समस्याको समाधानका लागि निर्माण गरिएको एआई च्याटबट र कल सेन्टर प्रणालीको काम अन्तिम चरणमा पुगेको हो ।
गैर–आवासीय नेपाली संघ (एनआरएनए) को पहलमा केही हप्ताभित्रै संयुक्त अरब इमिरेट्स (युएई) बाट पाइलट प्रोजेक्टको रूपमा उक्त सेवा सुरु गर्न लागिएको जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीचको सहमतिमा ‘श्रम संसार’ एपमा एआई च्याटबट र कल सेन्टर प्रणालीलाई एकीकृत गर्ने कार्य अन्तिम चरणमा पुगेको एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र मन्त्रालयको प्राविधिक टोली समक्ष एनआरएनएको प्राविधिक टोली (टेक्निकल टिम)ले प्रणालीको नमुना ‘डेमो’ प्रस्तुत गरेको थियो । मन्त्री भण्डारीसँगको छलफलमा यो प्रणालीलाई पाइलट प्रोजेक्टको रूपमा युएईबाट सुरु गरी क्रमशः अन्य देशहरूमा विस्तार गर्ने सहमति भएको एनआरएनएका कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गानाले बताए ।
‘श्रम संसार’ एपमा एआई च्याटबट र कल सेन्टर प्रणाली एकीकृत भएपछि दूतावासहरूमा फोन नउठ्ने समस्याको समाधान हुने अपेक्षा गरिएको छ । डिजिटल प्रणालीमार्फत विदेशमा रहेका नेपालीहरूले टेलिमेडिसिन, स्वास्थ्य शिक्षा, परामर्शलगायत विभिन्न समस्याहरूको समाधान हुन सक्ने एनआरएनए अध्यक्ष श्रेष्ठले बताए । साथै, जनशक्ति अभावमा पनि काम गर्न सहज हुने बताउँदै त्यसका लागि लाग्ने लागत एनआरएनले व्यहोर्ने पनि जनाइएको छ । सो अवसरमा मन्त्री भण्डारीले संसारभर रहेका नेपालीहरूको सेवा गर्नु नेपाल सरकारको दायित्व भएको बताए । यसलाई चाँडै नै सार्वजनिक गरेर सेवा सुरु गर्न आफू तयार रहेको उनको भनाइ थियो । प्रणालीलाई एकीकृत गर्नका लागि सबै दूतावासहरूसँग परराष्ट्र मन्त्रालयमार्फत आफूले समन्वय गर्ने पनि उनले स्पष्ट पारे ।