काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २०८२ जेठ महिनामा जारी गरेको मासिक योजनाअनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूको लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा नेशनल लाइफ गाला कन्सर्ट सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उद्घाटन गरेको सो कार्यक्रममा विभागीय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरू गरी करिब तीन सय ५० जनाको उपस्थिति थियो ।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई स्ट्रेस म्यानेजमेन्टसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो । प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरू प्रस्तुत गरेका थिए भने सोपश्चात् मनोरञ्जनात्मक एवं सांगीतिक प्रस्तुतिले भरिपूर्ण गाला कन्सर्टमा स्ट्यान्ड अप कमेडीयन सुमन कोइरालाको कमेडी प्रस्तुतिसहित नेपालका चर्चित कलाकारहरू प्रकाश सपुत, समीक्षा अधिकारी, बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड साङ्गीतिक प्रस्तुति थियो । यसैगरी चर्चित डिजे डिजे अमुको प्रस्तुतिमा अभिकर्ताहरूले भरपुर मनोरञ्जन लिएका थिए ।
भव्यरुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको माग तथा चाहानालाई मध्यनजर गर्दै गत साल भव्यरुपमा सफल भएको गाला कन्सर्टलाई निरन्तरता दिएको र यस योजनालाई देशैभरिका अभिकर्ताहरूको उत्साहजनक उपस्थितिले कार्यक्रम भव्यरुपमा सम्पन्न भएको पनि बताए ।