काठमाडौँ , काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा आएको आकस्मिक बाढीले फसेका पाँच तीर्थालुको नेपाली सेनाले सोमबार बिहान सकुशल उद्धार गरेको छ।सुन्दरीमाई मन्दिर नजिकैको खोलामा नुहाउने क्रममा चार भारतीय र एक नेपाली तीर्थालु एक्कासि खोलाको बहाव तीव्र बनेपछि नदीको बीचमै फसेका थिए। चारैतिरबाट बाढीले घेरेपछि उनीहरूले एक ठूलो ढुंगा चढेर ज्यान जोगाएका थिए। घटनाको जानकारी पाएपछि श्री चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा ती पञ्चजनाको सफल उद्धार गरेको हो। नेपाल सेनाले समयमै सक्रियता देखाउँदै सम्भावित ठूलो दुर्घटना टार्न सकेको स्थानीयले प्रतिक्रिया दिएका छन्। सुरक्षाकर्मीहरूको संयोजन र तत्परताको सर्वत्र प्रशंसा भइरहेको छ।