महोत्तरी । मधेसको मिथिला क्षेत्रमा अहिले साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने पर्व झुला महोत्सव आइतबार साँझदेखि सुरु भएको छ । विष्णुलक्ष्मी भक्तिको यो पर्व घरघरै नभएर मठ मन्दिरमा सामुहिक रुपमा मनाइन्छ ।
महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बजागाजासाथ झुलाघर पुर्याएर पर्व सुरु गरिएको छ । विष्णु लक्ष्मीका अवतार मानिने राम सीता र कृष्ण राधाका प्रतिमालाई विशेष झुला (कोक्रा, एकप्रकारको कलात्मक पिङ्मा) भुलाउनु (हल्लाउनु) नै यस पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाउने गर्छन् ।
झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ । झुलनोत्सव भनिने यो पर्व प्राचीन मिथिलाक्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र मन्दिर एबं जनकपुरस्थित जानकी मन्दिरको निकै प्रसिद्ध छ । मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएको हुँदा ज्वाइँलाई प्रसन्न गराउन पर्ने मैथिल परम्पराअनुसार यो पर्व मनाउन विसं १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गराएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णव बताउछन् ।
त्रेता युगमा जनकपुरमा रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिएको हिरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पहाडजस्तै बनेको बताइन्छ । अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । झुला पर्वमा साउन शुक्ल तृतीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिने मिथिला परम्परा छ ।