काठमाडौं, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबारको कारोबारपछि देखिएको प्राविधिक गडबडीका कारण अन्तिम तथ्यांक फेरिएको छ। कारोबार सकिएपछि नेप्से परिसूचक दुई अंकले घटेको देखिएको थियो तर तीन घण्टापछि पुनः गणना गर्दै नेप्सेले परिसूचक ७.१० अंकले बढेको जनाएको छ। नेप्सेले एक सूचना प्रकाशित गर्दै कारोबार प्रणालीमा ‘वेटेड एभरेज’ (भारित औसत) गणनाको क्रममा प्राविधिक त्रुटि भएको र उक्त समस्या समाधान भइसकेको स्पष्ट पारेको छ।
“नेप्सेको कारोबार प्रणालीमा कारोबार समयपश्चात परिसूचकको भारित औसत गणना गर्ने क्रममा प्राविधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको व्यहोरा अनुरोध गर्दछौं,” नेप्सेको सूचनामा उल्लेख छ।सच्याइएपछि नेप्से परिसूचक २,९७१.३१ विन्दुमा पुगेर बन्द भएको छ। यति ठूलो बजारमा तथ्यांक बारम्बार सच्यिनु पाउनु नियमन र पारदर्शितामाथि प्रश्न उठाउने खालको भएको विश्लेषकहरू बताउँछन्। बजारमा लगानीकर्ताले यस्तो अवस्थालाई गम्भीर रूपमा लिँदै पारदर्शिता र प्रणालीको विश्वसनीयतामाथि चासो व्यक्त गरेका छन्।