काठमाडौं । बैंक तथा वित्त कम्पनीहरु बढ्दो गैरबैंकिङ सम्पत्ति (एनपीए)को चपेटामा परेका छन् । ऋणीहरुले ऋण लिँदा राखेको धितो लिलाम बिक्रीबाट समेत नबिकेपछि एनपीएको ग्राफ चुलिएको हो ।
कर्जा लिएर नतिरेका ऋणीहरुको धितो बिक्रीका लागि पटक–पटक बोलकबोल आह्वान गर्दा पनि बिक्री हुन नसकेको हो । यसै पनि बैंकिङ क्षेत्र बढ्दै गएको खराब कर्जा (एनपीएल) ले आक्रान्त छ । यस्तोमा एनपीए समेत बढ्दा मुनाफासँगै बैंक तथा वित्त कम्पनीको वासलातमै नकारात्मक असर पारेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाहरुको कुल एनपीए बढेर ४५ अर्ब ७० करोड १० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकिङ क्षेत्रमा औषत निष्क्रिय कर्जा (एनपीए)को अनुपात पनि बढेर पाँच दशमलव २४ प्रतिशत पुगेको छ ।
२०८०/८१ सोही अवधिको तुलनामा गत वर्षको यस्तो सम्पत्ति १६ अर्ब ९६ करोड ६० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा बैंकिङ क्षेत्रको औषत खराब कर्जा (एनपीएल) तीन दशमलव ९८ प्रतिशतमा सीमित रहँदा कुल एनपीए पनि २८ अर्ब ७३ करोड ५० लाख रुपैयाँमा सीमित रहेको थियो ।
राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रमा औषतमा एक दशमलव २६ प्रतिशतले निष्क्रिय कर्जा बढ्दा गैर–बैंकिङ सम्पत्ति झण्डै १७ अर्ब रुपैयाँले बढेको देखिएको छ । आव २०८१/८२ को जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुमा औषत पाँच दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय हुँदा ३८ अर्ब ७९ करोड २० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति आव २०८०/८१ को सोही अवधिको तुलनामा १४ अर्ब पाँच करोड ९० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा वाणिज्य बैंकहरुमा औषतमा तीन दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय हुँदा २४ अर्ब ७३ करोड २० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो ।
विकास बैंक र फाइनान्समा पनि बढ्दै
यसैबीच, विकास बैंकहरुमा आव २०८१/०८२ को जेठ मसान्तसम्ममा औषतमा पाँच दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय हुँदा चार अर्ब १६ करोड ३० रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति आव २०८०/०८१ को सोही अवधिको तुलनामा एक अर्ब ६४ करोड १० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा विकास बैंकहरुमा औषतमा तीन दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय हुँदा दुई अर्ब ५२ करोड २० रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार आव २०८१/८२ को जेठमा फाइनान्स कम्पनीहरुमा भने औषतमा १३ दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय देखिँदा दुई अर्ब ७४ करोड ७० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति आव २०८०/८१ को सोही अवधिको तुलनामा एक अर्ब २६ करोड ५० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा फाइनान्स कम्पनीहरुमा औषतमा १० दशमलव ४० प्रतिशत कर्जा खराब हुँदा एक अर्ब ४८ करोड २० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो ।