काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना शुभ लक्ष्मी कोष तथा लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फन्ड योजनाले आर्थिक वर्ष २०८१/८२ को प्रतिफल घोषणा भएको छ ।
योजना व्यवस्थापक लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि शुभ लक्ष्मी कोषको करसहित १६ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड–२ को करसहित १५ प्रतिशत र सनराइज ब्लुचिप फन्डको करसहित १९ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
शुभ लक्ष्मी कोषका लागि सोमबार दर्ता किताबमा कायम इकाईधनीहरुले मात्र लाभांश पाउने छन् भने लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज ब्लुचिप फन्ड योजनाका लागि अर्को सूचना प्रकाशित गरी दर्ता किताब बन्द बारेको सूचना प्रकाशित गरी जानकारी गराउने जनाएको छ । शुभ लक्ष्मी कोष योजनामा लाभांश पुनः लगानी योजनामा दर्ता भएका इकाईधनीहरुको प्राप्त प्रतिफल बरावरको इकाई (कर तथा निर्धारित डीपी शुल्कपछिको प्रतिफल रकम बराबरले हुन आउने रकम समायोजित खुद सम्पत्ति मूल्यमा पुनः लगानी गरी) सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा सोझै जम्मा गरिनेछ ।
साथै, लाभांश पुनः लगानी योजनामा सहभागी नहुने इकाईधनीहरुको हकमा प्रतिफल रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा सोझै जम्मा गर्ने कम्पनीले बताएको छ ।