काठमाडौं । एनआईसी एसिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच यस बैंकका ग्राहकहरूलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । बैंकका अनुसार यो सम्झौतापछि बैंकका ग्राहकहरूले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरूमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले जनरल हस्पिटल सेवाहरूमा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरूमा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवामा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् । ग्राहकहरूले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर/कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नेछन् भने कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । कान्तिपुर डेन्टलसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा
एनआईसी एसिया बैंक लिमिटेडल संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका अनुसार एक सय कित्ता संस्थापक सेयर प्रतिकित्ता तीन सय ४० रुपैयाँमा विक्री गर्न लागिएको हो । बिक्रीमा रहेको सो सेयर खरिद गर्नका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिनुपर्ने कानुनी व्यवस्था भएकोले सर्वप्रथम बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई उक्त सेयर खरिद गर्ने ३५ दिने सूचना प्रकाशन गरिएकोमा उक्त अवधिमा विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै आवेदन प्राप्त नभएकोले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम अन्य व्यक्ति/संस्थाहरूले समेत खरिद आवेदन दिनसक्ने गरी यो सूचना प्रकाशन गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक तथा नेपाल राष्ट्र बैंकले संस्थापक हुनको लागि निर्धारण गरेको योग्यता भएका व्यक्ति/संस्थाले सात दिनभित्र बैंकको कर्पोरेट कार्यालय, कमलादी काठमाडौंमा उल्लिखित एक सय कित्ता संस्थापक सेयर खरिद गर्ने दरभाउ न्यूनतम प्रतिकित्ता सेयर मूल्य तीन सय ४० रुपैयाँबाट नघट्ने गरी बोलपत्र पेस गर्नुपर्नेछ । बिक्रीमा रहेको उल्लिखित संस्थापक सेयर बढी दरभाउ तोकी आवेदन दिनेलाई बिक्री गर्ने बैंकले जानकारी दिएको छ ।