काठमाडौं, बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव अझ गहिरिँदै गएको छ। सोमबार साँझ खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री श्यामकुमार खड्काले राजीनामा दिएका छन्।खड्काले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री लामालाई राजीनामा बुझाउँदै अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुन्। उनको हस्ताक्षरसँगै लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या २२ पुगेको छ।
यसअघि साउन ९ गते कांग्रेसका चार मन्त्रीहरूले— युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ— सामूहिक राजीनामा दिएका थिए।चार मन्त्रीको राजीनामापछि पनि मुख्यमन्त्री लामाले उनीहरूलाई पदमुक्त गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्र पठाएका थिए। तर लामाविरुद्धको असन्तोष थामिन सकेन।
सत्तारूढ दलभित्रकै आन्तरिक विवाद चर्कंदै गएपछि कांग्रेस केन्द्रीय नेतृत्वले राजन केसीलाई बागमती पठाएको थियो। केसी सोमबारदेखि लामासँगै असन्तुष्ट सांसद इन्द्रबहादुर बानियाँलाई राखेर समन्वय गरिरहेका छन्।यद्यपि, कांग्रेस संसदीय दलले दिउँसो १ बजेका लागि बोलाएको बैठक साँझ ४ बजेसम्म पनि सुरु हुन सकेको थिएन। यसले दलभित्रको मतभेद अझै मिल्न नसकेको संकेत गरेको छ। बागमती प्रदेश सरकार भित्र चर्किएको यो संकटले सत्ता समीकरण नयाँ मोडमा पुग्ने संकेत दिएको छ।