धनुषा । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरी भन्ने स्थान नजिक धारिलो हतियार प्रहार गरी १४ वर्षीया एक बालिकाको हत्या गरिएको छ भने दुईजना घाइते भएका छन् ।
बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते भएका छन् । उपचारका लागि उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ । आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति ती तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए । साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको जानकारी दिए ।