काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोमबार कञ्चनपुरमा महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणाधीन नहरको अनुगमन तथा निरीक्षण गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताए ।
मन्त्री खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गर्दै आयोजनाको वर्तमान कार्यप्रगति सराहनीय रहेको भन्दै तोकिएको लक्ष्य हासिल गर्न अझ प्रभावकारी रूपमा काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले निरीक्षणका क्रममा महाकाली सिँचाइ आयोजना सुदूरपश्चिमको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना भएको बताए ।
मन्त्री खड्काले महाकाली सिँचाइ आयोजनाजस्ता योजनाले स्थानीय उत्पादन क्षमतामा वृद्धि गरी राष्ट्रिय समृद्धिमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय गौरवको आयोजनालाई समयमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारी र स्थानीय जनप्रतिनिधिको सो भ्रमणमा उपस्थिति थियो ।
टनकपुर ब्यारेजमार्फत प्राप्त पानी प्रयोग गरी सञ्चालनमा ल्याइएको उक्त आयोजनाले कञ्चनपुरको ब्रह्मदेव, मालाखेती, दोधारा–चाँदनी र त्रिभुवनबस्ती क्षेत्रका ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।
हालसम्म ३० किलोमिटर मूल नहर र करिब १२ किलोमिटर शाखा नहर निर्माण भइसकेको छ भने करिब ६५० हेक्टर जमिनमा सिँचाइ संरचना तयार भइसकेको छ । आयोजनाको समग्र भौतिक प्रगति हाल २४ दशमलव २२ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ८३ दशमलव ९७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको आयोजना कार्यालयले जनाएको छ ।