काठमाडौं । नेपालभरका एक सय ५० भन्दा बढी रोटरी क्लबहरूले ‘रोटरी प्लान्टेसन डे २०२५’ मा भाग लिँदै एकै दिनमा ५० हजारभन्दा बढी बिरुवा रोपेका छन् । यो वृक्षरोपण अभियान हरेक डिस्ट्रिक्टको लक्ष्यअनुसार एकैदिन सम्पन्न गरिएको हो ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानलाई डिस्ट्रिक्टका सबै क्षेत्रमा एकसाथ कार्यान्वयन गरिएको थियो । जलवायु परिवर्तनसँग जुध्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथै रोटरियन र उनीहरूका सेवा साझेदारबीच सहकार्य बलियो बनाउने अभियानको मूल उद्देश्य रहेको संस्थाको भनाइ छ । ‘यो केवल रूख रोप्ने होइन, आशा रोप्ने र समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अभियान हो,’ गभर्नर कोइरालाले भने । सहरी पार्कदेखि दुर्गम पहाडी क्षेत्रसम्म, विद्यालय, सार्वजनिक स्थल, स्वास्थ्य चौकी र राजमार्ग छेउमा बिरुवाहरू रोपिएको थियो ।
वृक्षरोपणपछि बिरुवाको स्याहार र संरक्षणमा पनि विशेष ध्यान दिइएको थियो, जहाँ धेरै क्लबहरूले स्थानीय सरोकारवालासँग सहकार्य गरेका छन् । रोटरी प्लान्टेसन डे २०२५ले ‘युनिट फर गुड’ भन्ने रोटरी इन्टरनेसनलका अध्यक्ष फ्रान्चेस्को अरेज्जोद्वारा अगाडि सारिएको थिमअनुरूप सामूहिक प्रयासको शक्ति र हरित, दिगो र सहकार्यमा आधारित विश्व निर्माणप्रति रोटरियनहरूको स्थायी प्रतिबद्धतालाई प्रष्टरूपमा उजागर गरेको छ ।