काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा तीव्र गतिका बलर करण केसीलाई इन्फर्मेटिक्स कन्सल्टेन्सी प्रालिले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरी केसीलाई ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको हो । इन्फर्मेटिक्सले युवापुस्तामा लोकप्रिय र अनुशासित खेलाडीको रूपमा स्थापित केसीको छवि विद्यार्थी र अभिभावकमाझ विश्वास निर्माणमा थप प्रभावकारी हुने विश्वास गरिएको छ । कार्यक्रममा क्रिकेटर करण केसीले इन्फर्मेटिक्सको अभियानमा आफू जोडिन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘मेरो प्रयास सधैँ सकारात्मक सन्देश प्रवाह गर्नेतर्फ हुन्छ । खेलमा जस्तो निरन्तर अभ्यास र इमानदारीले सफलता ल्याउँछ, त्यस्तै शिक्षा र करियर निर्माणमा पनि सही दिशानिर्देशन जरुरी हुन्छ ।’
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराई, पूर्वअध्यक्ष दीपक गुरुङलगायतको सहभागिता थियो । इन्फर्मेटिक्स कन्सल्टेन्सीका निर्देशक ज्ञानेन्द्रमान जोशीले प्रेरणादायी व्यक्तित्वहरूलाई शैक्षिक सन्देशवाहक बनाउँदा विद्यार्थीहरूमा सकारात्मक सोच, अनुशासन र लक्ष्यप्रति प्रतिबद्धता जागृत हुने बताए ।