काठमाडौं — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र वैचारिक स्पष्टता र संगठनात्मक अनुशासनको खाँचो रहेको भन्दै विशेष महाधिवेशनको माग गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक चार बुँदे प्रस्तावमार्फत उनले पार्टीभित्र फैलिएको अन्योल र भ्रमलाई चिर्दै पार्टी पुनर्गठनको पक्षमा दृढ आवाज उठाएका हुन्। शर्माले पार्टी फुट्छ भन्ने हल्ला विगत दुई वर्षदेखि उच्च तहबाटै चलाइएको आरोप लगाउँदै त्यसमा कार्यकर्ताहरू नफस्न आग्रह गरेका छन्। उनले यसरी फैलाइएका आशंका र प्रचारहरुले कार्यकर्तामा मानसिक भ्रम सिर्जना गरिरहेको बताउँदै, पार्टीको एकतालाई कमजोर पार्ने योजनाका विरुद्ध सचेत रहनु आवश्यक रहेको उल्लेख गरेका छन्। उनले स्पष्ट पारेका छन् कि विशेष महाधिवेशनले केवल सांगठनिक अनुशासन मात्र होइन, वैचारिक स्पष्टता, राजनैतिक दिशा, नयाँ पुस्ताको चाहना र संविधान संशोधनसहितको राष्ट्रिय एजेण्डालाई समेत समेट्नेछ। शर्माका अनुसार, अहिलेको पार्टी संरचना र राजनीतिक रणनीतिमा गम्भीर आत्ममूल्यांकन आवश्यक छ, र त्यसको सबल माध्यम विशेष महाधिवेशन बन्न सक्छ। शर्माले पार्टीभित्र परामर्श र बहसको संस्कृति सुदृढ पार्दै, प्रदेश र केन्द्रीय तहका बैठकहरूमा उठेका सैद्धान्तिक र व्यवहारिक विषयहरूलाई समेट्दै महाधिवेशनमार्फत सशक्त कार्ययोजना ल्याउनु पर्ने आवश्यकता औंल्याएका छन्। उनको प्रस्तावमा संविधान संशोधन, अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठनलाई मुल एजेण्डाको रूपमा प्रस्तुत गरिएको छ। विशेषगरी समाजवादउन्मुख अर्थतन्त्रलाई व्यवहारमा उतार्ने नीति निर्माण, उत्पादन र रोजगारीको माध्यमबाट सामाजिक रूपान्तरणको जग खडा गर्ने सोचले पार्टीलाई नयाँ मार्गचित्र दिने विश्वास शर्माले व्यक्त गरेका छन्। देशमा व्यापक रूपमा बढ्दै गएको कुशासन, भ्रष्टाचार, कानुनी अराजकता र जनसरोकारविहीन शासनप्रति पनि उनले आलोचना व्यक्त गरेका छन्। यस्ता चुनौतीहरूको समाधान संविधान संशोधन, राज्य संरचनाको पुनर्संरचना र पार्टीको वैचारिक स्थायित्वबाट मात्र सम्भव हुने विश्वास उनले व्यक्त गरेका छन्। शर्माको प्रस्तावले माओवादी केन्द्रभित्र चलिरहेको आन्तरिक असमझदारी, रणनीतिक दिशाहीनता र कार्यशैलीको असन्तोषलाई संस्थागत रूपमा सम्बोधन गर्ने एउटा प्रयासको रूपमा लिने राजनीतिक विश्लेषकहरूले बताएका छन्।