काठमाडौं,मानव बेचबिखनको अभियोगमा डेढ वर्ष जेल बसेर केही समयअघि मात्र निस्किएका एक ‘अभियुक्त’को जन्मदिनमा शुभकामना दिन र आतिथ्य ग्रहण गर्न नेपाल प्रहरीका डीआईजी दिनेश आचार्य प्रहरी अधिकृतहरूको दलबलसहित गोरखा पुगेको थाहा भएको छ । यो घटना गत असार १२ गतेको हो । स्रोतका अनुसार त्यस दिन मानव बेचबिखनमा जेल परेर छुटेका गोरखाका नारन गुरुङको जन्मदिन थियो । काठमाडौं गोंगबुमा गोरखा होटल पनि चलाउने गुरुङ अहिले गोरखाको पालुङटार ३ पाच्यानमा लिगलिगकोट रिसोर्ट सञ्चालन गरेका छन् ।
‘दागी’ गुरुङलाई शुभकामना दिन त्यसदिन डीआईजी आचार्य पोखराका एसपी रमेश पण्डित, गोरखाका एसपी भरत विश्वकर्मा र गोरखा ठाँटी पोखरीका इन्स्पेक्टरलाई समेत साथै लिएर लिगलिगकोट रिसोर्ट पुगेका हुन् । गुरुङको जन्मदिनको अवसर पारेर डीआईजी आचार्यसहितका प्रहरी अधिकृतहरुको ताँतीको तारतम्य मिलाउने कामचाहिँ देखिने ठोस कार्यालय र पेशा नदेखिएका दलाली, र छ्याकन गर्दै आएका विवादास्पद व्यक्ति गोरखाको माइलो भनिने वेदप्रसाद काप्रीले गरेको थाहा भएको छ ।
विवादास्पद कार्गो व्यवसायीदेखि नक्कली भारुको कारोबारी तथा अवैध क्यासिनो एवं जुवाजस्ता धन्दामा जोडिएका काप्रीसँग डीआईजी आचार्यको विशेष सम्बन्ध रहनु र मानव बेचबिखनमा जेलबाट छुटेका अभियुक्तलाई दलबलसहित शुभकामना दिन लिगलिगकोट रिसोर्ट पुग्नुले डीआईजी आचार्यको धन्दावालहरुसँगको विशेष सम्बन्धलाई उजागर गरेको छ ।