विश्वको सर्वोच्च चुचुरो सगरमाथाको विभिन्न नाम रहेका छन् । जसलाई अंग्रेजीमा माउन्ट एभरेष्ट भनिन्छ । यो उच्च शिखर नेपाल र चीन (तिब्बत स्वायत्त क्षेत्र)को सिमानामा अवस्थित छ । यसलाई नेपाली नामाकरण ‘सगरमाथा’ अर्थात् सागरको टाकुरो र तिब्बती नाम ‘चोमोलुङ्मा’ अर्थात् संसारकी आमा देवीले यस स्थानको पवित्रता र आध्यात्मिक मूल्य पनि दर्शाउँछ । यो सगरमाथा विश्वको सबैभन्दा अग्लो चुचुरो हो । जसको उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर (२९,०३१.७ फिट) छ । यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्दछ । जसमा पहिलो पटक सन् १९५३ मे २९मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेका थिए । जसले गर्दा सगरमाथा केवल भौगोलिक दृष्टिले मात्र होइन, नेपालका लागि सांस्कृतिक, पर्यटन, आर्थिक र पर्यावरणीयरूपमा पनि विशेष महत्व राख्दछ । यो हिमशिखरले विश्वका हजारौँ पर्वतारोहीहरूलाई आकर्षित गर्दै आएको छ । फलतः सगरमाथा आरोहणले देशको पर्यटन क्षेत्रलाई ठूलो आर्थिक र सामाजिक उन्नतिको मार्ग प्रदान गरेको छ । यसले विश्वमै राष्ट्रको पहिचान बढाएको छ र स्थानीय तवरमा लाखौँ मानिसको जीवनस्तर सुधार गरेको छ । तथापि, यसको दिगो व्यवस्थापन र पर्यावरणीय संरक्षण पर्याप्त महत्व राख्नुपर्ने विषय हो ।
संसारका धेरै देशका मानिसहरू यो शिखरमा आरोहीको रुपमा आउने क्रम बढ्दै गयो । प्रारम्भमा यो कार्य अत्यन्तै जोखिमपूर्ण र सीमित साहसीहरूका लागि मात्र सम्भव थियो । तसर्थ यो सफलताले नेपाललाई विश्वभर चिनाएको छ र सगरमाथा आरोहण विश्वकै महत्वपूर्ण पर्वतारोहणका रूपमा परिचित छ । हाल प्रत्येक वसन्त (अप्रिल–मे) र शरद (सेप्टेम्बर–अक्टोबर) मौसममा सयौँ आरोही लक्ष्य बनाउँछन् । यसै क्रममा सन् २०००मा वार्षिक आरोहण संख्या करिब दुई सय, सन् २०१०मा झण्डै तीन सय ५०, सन् २०२० पछि करिब सात सयदेखि आठ सयको बीचमा रहेको थियो । यसैगरी सन् २०२३को वसन्त मौसममा लगभग छ सय जनाले आरोहण गरेका थिए । जुन रेकर्ड नजिकैको संख्या हो । हाल सन् २०२५ सम्म आइपुग्दा जम्माजम्मी नौ हजारभन्दा बढीले सगरमाथा चढेको सम्बन्धित क्षेत्रको तथ्यांकले देखाएको छ । यो संख्या सन् १९९०को दशकको तुलनामा धेरै गुणा बढेको थियो । तर, २१औँ शताब्दीमा आधुनिक प्रविधि, गाइड प्रणाली, अक्सिजन सिलिन्डर र आधार शिविरको सुदृढ व्यवस्थाले सगरमाथा आरोहणलाई व्यापक बनायो । सगरमाथा केवल एक चुचुरो होइन, यो नेपालको गौरव, विश्वको रोमाञ्चक स्थल र मानव इतिहासको एउटा गौरवपूर्ण अध्याय पनि हो । यसमा हालसम्म नौ हजारभन्दा बढी व्यक्तिहरूले यो शिखरमा पाइला टेकेको तथ्यले सगरमाथाको महत्व अझ प्रस्ट हुन्छ । तथापि, यससँगै आइरहेका चुनौतीहरूलाई सम्बोधन गर्दै दिगो पर्यटन, पर्यावरणीय संरक्षण र मानव सुरक्षाको सुनिश्चितता आजको आवश्यकता पनि हो । यसको साथसाथै सगरमाथा आरोहण अत्यन्तै जोखिमपूर्ण कार्य पनि हो । जसमा भन्ने नै हो भने हिउँपहिरो, हावा, हिमवर्षा, चिसो, अक्सिजन अभाव र शारीरिक थकानले अहिलेसम्म तीन सय ५० भन्दा बढी आरोहीहरूले ज्यान गुमाएका छन् । यदि मुलुकले समुचित नीति, सन्तुलित अनुमति, वातावरणीय जिम्मेवारी र स्थानीय सहभागिता सुनिश्चित गर्न सकेमा सगरमाथा केवल आरोहणको गन्तव्य मात्र नभई, विश्वभर प्रेरणा दिने केन्द्र बन्न सक्छ ।
सगरमाथा आरोहण सामान्यतया ४० दिनको प्रक्रिया हो । आरोहीहरू आधार शिविरदेखि माथि त्रिलोकी शिविरसम्म अभ्यास गर्छन् । आरोहण अत्यन्तै जोखिमपूर्ण र जीवन–घातक हुन्छ । विशेष गरेर हिउँदमा आरोहण गर्दा दुर्लभ र कठिन बाटोहरू अपनाउनुपर्छ । यसमा पनि भन्ने नै हो भने अक्सिजन अभाव, मौसम परिवर्तन, हिमपहिरो जोखिम, र स्वास्थ्य समस्या आरोहणका मुख्य चुनौतीहरू हुन् । त्यसरी नै सगरमाथा आरोहणबाट हुने आर्थिक लाभको तथ्यांकलाई हेर्ने हो भने सन् २०२३मा सगरमाथा आरोहीबाट मात्रै करिब ६६ करोड ६४ लाख रूपैयाँ रोयल्टी संकलन भएको थियो । त्यसैगरी सगरमाथामा हिमाल आरोहण र पदयात्राबाट कुल करिब १३ अर्ब रूपैयाँ आम्दानी हुन्छ । त्यसमा पनि भन्ने नै हो भने एक जना आरोहीले औसतमा ३५ हजार अमेरिकी डलर खर्च गर्छन् । सगरमाथा आरोहण गर्नको लागि विदेशी नागरिकका लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर, सार्क देशका लागि छ हजार अमेरिकी डलर र नेपाली नागरिकलाई झण्डै छ सय अमेरिकी डलर दस्तुरबापत (रोयल्टी) नेपाल सरकारलाई बुझाउनु पर्छ । जसमा भन्नै नै हो भने रोयल्टी, इन्क्विप्मेन्ट, गाइड सेवा, हेलिकोप्टर सेवा, होटल बसोबास, साहसिक पर्यटनलगायतका खर्च समेटिन्छ । यी क्षेत्रले दुई अर्बभन्दा बढी आम्दानी गर्छन् । हेलिकोप्टर कम्पनीले मात्रै करिब ३० करोड रूपैयाँ कारोबार गर्छ । त्यसरी नै एउटा आरोहीले करिब २६ जनालाई रोजगारी दिने अनुमान सम्बन्धित क्षेत्रले गरेको छ । जसमा विभिन्न किसिमका जस्तै गाइड, कुक, सहयोगी, भरिया, हेल्पर आदि रोजगारीमा लाग्दछन् ।
सगरमाथा विश्वको एउटा अद्वितीय प्राकृतिक सम्पदा हो । जसले गर्दा देशलाई आर्थिकरूपमा महत्वपूर्ण योगदान पुर्याएको छ । यसले हजारौँ मानिसलाई रोजगारी प्रदान गरेको छ, सरकारी राजस्व बढाएको छ र राष्ट्रको अन्तर्राष्ट्रिय पहिचानलाई बलियो बनाएको छ । यद्यपि, बढ्दो आरोहण र अनियन्त्रित पर्यटनले वातावरण, सुरक्षा र स्थानीय संस्कृतिमा गम्भीर चुनौतीहरू खडा गरेको छ । यी चुनौतीहरूलाई सम्बोधन गर्नका लागि नेपाल सरकार, पर्वतारोहण एजेन्सीहरू, स्थानीय समुदायहरू र अन्तर्राष्ट्रिय संस्थाहरूबीचको सहकार्य अपरिहार्य छ । यसमा दिगो पर्यटन विकासका सिद्धान्तहरूलाई अपनाएर मात्र सगरमाथाको आर्थिक लाभलाई निरन्तरता दिन सकिन्छ र यसको प्राकृतिक सौन्दर्य र संवेदनशीलतालाई भावी पुस्ताका लागि पनि सुरक्षित राख्न सकिन्छ । सगरमाथालाई केवल एक आरोहण गन्तव्यको रूपमा मात्र नहेरी यसलाई एक पवित्र र अद्वितीय प्राकृतिक सम्पदाको रूपमा संरक्षण गर्नुपर्छ । यसको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी पनि हो । फलतः सगरमाथा केवल एक चुचुरो होइन, यो नेपालको राष्ट्रिय गौरव, विश्वको आकर्षण र आर्थिक समृद्धिको एक प्रमुख आधार पनि हो । प्रत्येक सफल आरोहणसँग नेपालले नयाँ वैदेशिक मुद्रा, रोजगारी र अन्तर्राष्ट्रिय साख कमाइरहेको छ । तर यसको दीर्घकालीन लाभ सुनिश्चित गर्न हामीले प्राकृतिक स्रोतहरूको संरक्षण, व्यवस्थापनको सुधार र दिगो विकासलाई प्राथमिकता दिनु आवश्यक छ । यदि हामीले सगरमाथालाई सही तरिकाले व्यवस्थापन गर्न सक्यौँ भने यसले नेपाललाई साहसिक पर्यटनको केन्द्र मात्र होइन, दिगो समृद्ध राष्ट्रका रूपमा पनि स्थापित गराउन सक्छ ।
समग्रमा भन्नुपर्दा सगरमाथा मुलुकको पर्यटक आकर्षण मात्र नभई, आर्थिक उन्नतिको मुख्य स्रोत समेत भएको छ । मूलतः सगरमाथा आरोहणको बढ्दो लहरले देशलाई अभूतपूर्व आर्थिक अवसर प्रदान गरेको छ । यसले सरकारी राजस्व बढाएको छ । यसमा पनि भन्ने नै हो भने हजारौँ रोजगारी सिर्जना गरेको छ । यसर्थ विशेषगरी शेर्पा समुदायका लागि र सम्बद्ध उद्योगहरूलाई बलियो बनाएको छ । तथापि, यो अवस्था स्थायी भने छैन । यसमा पनि भीड, अनुभवहीन आरोही, गम्भीर पर्यावरणीय क्षति र सामाजिक असमानताले यसको भविष्यलाई जोखिममा राखेको छ । यसर्थ राष्ट्रको सामना गर्नुपर्ने ठूलो चुनौती भनेको यो आर्थिक लाभलाई टिकाउ बनाउनु पनि हो । यसको लागि कडा नियमहरू अनुभव आवश्यकता, संख्या सीमा, कडा कचरा व्यवस्थापन, शेर्पा कल्याणको उन्नति, आय विविधीकरण अन्य हिमाल र पर्यटन प्रकारहरूमा ध्यान दिएर र प्रभावकारी सुरक्षा तथा शासनमा जोड दिनुपर्छ । यसर्थ जिम्मेवार र टिकाउ आरोहण प्रविधिलाई नै प्राथमिकता दिनुपर्छ । अतः सगरमाथा नेपालको गौरव र प्राकृतिक सम्पदा पनि हो । यसको मूल्य केवल आर्थिक आँकडामा नाप्न सकिँदैन । यसलाई सम्मान गर्ने, संरक्षण गर्ने र यसको आकर्षणलाई लामो समयसम्म कायम राख्ने बुद्धिमत्तापूर्ण दृष्टिकोण अपनाउनु आवश्यक छ । तसर्थ विश्वको छानोको साहसिक यात्राले नेपाली जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नेछ भने यसको प्रबन्धन जिम्मेवार, न्यायपूर्ण र पर्यावरणीय दृष्टिले सचेत हुनुपर्छ । त्यस कारण यो नेपालको सगरमाथाजस्तै ठूलो चुनौती र आर्थिक उन्नतिको अवसर पनि हो ।