बेइजिङ । चीनले जन्मदर बढाउन परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बीबीसीका अनुसार चीन सरकारले राष्ट्रव्यापी रुपमा सहायता दिएर जन्मदर वृद्धिको योजना बनाएको हो ।
यसअनुसार वार्षिक चिनियाँ परिवारले उनीहरुका हरेक बालबालिकाका लागि तीन वर्षसम्म ३ हजार ६ सय युआन अर्थात् ५ सय अमेरिकी डलर पाउने अफर गरिएको छ । शासनसत्ता चलाइरहेको चिनियाँ कम्युनिस्ट पार्टीले झण्डै दशकअघि नै एक शिशु नीति छोडे पनि देशको जन्मदर घट्दै गएको छ ।
चिनियाँ राज्यबाट सञ्चालित मिडियाहरुका अनुसार बालबच्चा हुर्काउन २ करोड परिवारलाई आवश्यक खर्चस्वरुप यो योजना ल्याइएको छ । चीनका धेरै राज्यहरुले मानिसहरुलाई धेरै सन्तान जन्माउन यसअघि नै केही आर्थिक भुक्तानी गर्दै आएका छन् । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको जनसंख्या संकट गहिरिँदै जानसक्ने देखिएकाले यो अभ्यास गरिँदै आएको छ ।
सोमबार नयाँ स्किमको घोषणा गरिएको थियो । यसअनुसार चिनियाँ परिवारले प्रतिशिशु १० हजार ८ सय युआनसम्म पाउन सक्नेछन् । यो नीति यही वर्षको सुरुदेखि नै लागू भएको मानिने गरी अख्तियार गरिन लागेको चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ । २०२२ देखि २०२४ को बीचमा बच्चा जन्माएका परिवारले समेत आंशिक रुपमा यो सहायता पाउने गरी आवेदन दिन सक्नेछन् ।
स्थानीय सरकारहरुले जन्मदर वृद्धिमा गरिरहेको प्रयासलाई अझ प्रभावकारी बनाउन नयाँ योजना सार्वजनिक गरिएको हो । गत मार्चमा उत्तरी चिनियाँ सहर हुहटले बासिन्दाहरुलाई प्रतिशिशु १ लाख युआनसम्म दिन सुरु गरेको थियो । यसअनुसार कम्तीमा तीन सन्तान जन्माएका दम्पतीलाई यो सुविधा दिइएको थियो । त्यसैगरी उत्तरपूर्वी बेइजिङमा अवस्थित शेन्याङ सहरले पनि तेस्रो सन्तान जन्माएका स्थानीय परिवारलाई प्रतिमहिना ५ सय युआन दिँदै आएको छ ।
गत हप्ता बेइजिङले समेत स्थानीय सरकारहरुलाई विद्यालयपहिलेको निःशुल्क शिक्षा कार्यान्वयनको लागि योजनाको मस्यौदा बनाउन भनेको थियो । चीनको युवा जनसंख्या अनुसन्धान संस्थाले गरेको अध्ययनअनुसार चीन बच्चा जन्माउन विश्वकै अतिमहंगो स्थानहरुमध्ये पर्छ । अध्ययनअनुसार १७ वर्ष उमेरसम्म बच्चा हुर्काउन चीनमा ७५ हजार ७ सय अमेरिकी डलर औसत लागत पर्ने गरेको छ । गत जनवरीमा आधिकारिक तथ्यांकले चीनको जनसंख्या सन् २०२४ मा लगातार तेस्रोपटक घटेको देखाएको छ । सो वर्ष चीनमा ९५ लाख ४० हजार शिशुहरु जन्मिएका थिए ।