काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको हैसियत गुमाएका छन् । संसदीय दलमा लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मंगलबार भएको मत विभाजनमा उनी पराजित भएका हुन् ।
लामाको पक्षमा १५ जना र विपक्षमा २२ जनाले समर्थन जनाएपछि लामाले संसदीय दलको नेताको पद गुमाएका हुन् । लामाविरुद्ध प्रदेशसभा सदस्य इन्द्र बानियाँको पक्षले गत शुक्रबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाए पनि दलमा नयाँ नेता छान्न बुधबार निर्वाचन हुने भएको छ । पार्टीमा संसदीय दलको नेताको हैसियत गुमाए पनि लामाले मुख्यमन्त्रीबाट भने राजीनामा दिएका छैनन् । लामालाई मुख्यमन्त्रीबाट हटाउने योजनाअनुसार नै प्रदेश सदस्य तथा नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति समेत रहेका बानियाँले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
संसदीय दलमा बानियाँ पक्ष विजयी भए पनि मुख्यमन्त्रीबाट लामालाई हटाउन भने कानुनीरुपमा सहज छैन । लामा मुख्यमन्त्री भएको एक वर्ष मात्रै भएकाले उनीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव लैजान संविधानले दिँदैन । साथै, सत्ता साझेदार दल एमालेले समेत मुख्यमन्त्री लामालाई दिएको समर्थन फिर्ता लिने/नलिने यकिन छैन । यो अवस्थामा लामा मुख्यमन्त्री पदमा केही समय रहने देखिन्छ । यद्यपि, कांग्रेसको विधानमा संसदीय दलको नेता प्रधानमन्त्री या मुख्यमन्त्री हुने व्यवस्था छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा ३७ जना प्रदेशसभा सदस्य छन् ।