काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा मंगलबार सानेपामा आयोजित वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा उनले वर्तमान सरकारको महत्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाउनु भएको बताए । कार्यक्रममा उनले विसं २०४८ मा कांग्रेसको सरकार आएपछि निजीकरण र उदारीकरणको नीति ल्याएको बताए । उदारीकरणका नीति ल्याए पनि कांग्रेसले धेरै गाली खाएको स्मरण गर्दै देउवाले कांग्रेसको नीति निजी क्षेत्रलाई उद्योग र व्यापार सञ्चालन गर्न सहयोग गर्ने रहेको बताए । ‘व्यापार व्यापारीले गर्ने हो, उद्योग उद्योगीले गर्ने हो, सरकारले उद्योग व्यापार गर्ने हैन, सरकारले के सहयोग गर्नुपर्छ’, उनले भने ।
सभापति देउवाले लामो सशस्त्र द्वन्द्व, २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ को महामारी, रूस–युक्रेनबीच भएको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका बाबजुद पनि मुलुकको आर्थिक स्थायित्व कायम रहन सक्नुमा २०४८ पछि कांग्रेसको सरकारले बसालेको दरिलो अर्थतन्त्रको जग भएको दाबी गरे । यस्तै, उनले वर्तमान अवस्थामा अर्थतन्त्रका बाह्य सूचकहरू, सरकारको चालू खाता र शोधनान्तर बचत निरन्तर बढ्दै गएको, विदेशी मुद्रा सञ्चितिमा उल्लेखीय सुधार भएको, रेमिट्यान्स उच्च दरमा वृद्धि भएको, मुद्रास्फिति करिब चार प्रतिशतमा सीमित भएको, निजी क्षेत्रमा भएको कर्जा प्रवाह चार दशमलव छ प्रतिशतले वृद्धि भएको र गत वर्षको तुलनामा आयात १३ दशमलव एक प्रतिशत र निर्यात ७७ दशमलव आठ प्रतिशतले वृद्धि भएको बताए ।
विद्युत् उत्पादन तथा वितरण, वित्तीय तथा बीमा, खानी तथा खनिज पदार्थ उत्खनन्क्षेत्रको योगदानको कारण आर्थिक वृद्धि हुने संकेत देखापरे पनि अर्थतन्त्रको वास्तविक क्षेत्र उत्पादन, रोजगारी, उद्योग व्यवसायको अवस्था, लगानी अभिवृद्धिलगायत सूचकहरूमा अपेक्षित सुधार गरी निजी क्षेत्र र आम नागरिकको विश्वास जित्न अझै प्रयत्न गर्नुपर्नेमा उनले जोड दिए । ‘विकास खर्च शीर्षकमा विनियोजित बजेटको ठूलो हिस्सा खर्च गर्न नसक्ने प्रवृत्तिले निरन्तरता पाइरहेको छ, यसलाई अन्त्य गर्न संरचनागत, संस्थागत, प्रक्रियागत सुधार एवं आवश्यक ऐन कानुन र कार्यविधि यथाशीघ्र बनाएर पुँजीगत खर्च समयमै गर्ने परिपाटी बसाल्न आवश्यक छ’, उनले भने ।
सभापति देउवाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरिएको मौद्रिक नीतिअनुसार ब्याजदर घटेकाले बैंकमा जम्मा भएको ठूलो रकम कर्जा प्रवाहमा विस्तार भई औद्योगिक व्यवसाय तथा सर्वसाधारण जनतामा केही उत्साह जगाउने विश्वास जनाए । यस्तै, उनले रेमिट्यान्सलाई उत्पादनसँग जोड्ने वित्तीय र मौद्रिक नीति प्रभावकारी बनाउन अति आवश्यक रहेको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले नेपालको कानुन, सरकारको बजेट र मौद्रिक नीतिले निजी क्षेत्रको उत्साह थपेको भन्दै लगानीका लागि उपयुक्त अवसर सिर्जना गरेको बताए । विकास बैंकर्स सङ्घका अध्यक्ष सुयोग श्रेष्ठले स्थानीय सरकारबाट हुने असहयोगका कारण लगानी गर्न समस्या भएको बताए । यस्तै, उनले अर्थतन्त्रको दिगोपनाका लागि रेमिट्यान्समा मात्रै भर पर्न नहुनेमा जोड दिए । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिफिन)का अध्यक्ष उपेन्द्र पौडेलले नेपालमा पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सक्ने गरी पूर्वाधार क्षेत्रको विकास गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारबाट फर्किएकालाई रोजगारीमा प्रवर्द्धन गर्न बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिइरहेको बताउँदै उनीहरूको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए ।
पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले बजेट सकारात्मक आएको र अर्थतन्त्रलाई चलायमान बनाउने गरी सरकारबाट राम्रो काम भएको बताए । अर्थतन्त्रको सबै सूचकहरू राम्रो हुँदै गर्दा सबैतिर सकारात्मक बहस हुँदै गएको र लचक मौद्रिक नीतिले पनि ब्याजदरलाई कम गराउन भूमिका खेलेको उनको भनाइ थियो । धितोपत्र बोर्डका पूर्वकार्यकारी अधिकृत निरज गिरीले नेपालको पुँजी बजारमा लगानीको वातावरण बनेको भन्दै धितोपत्र ऐनलाई समयसापेक्ष संशोधन गर्नुपर्नेमा जोड दिए । उनले नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचना अनिवार्य भइसकेको भन्दै २५ करोड रुपैयाँभन्दा कम पुँजी भएका कम्पनीका लागि छुट्टै स्टक एक्सचेञ्जको व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।
चार्टर एकाउन्टेन्ट अनलराज भट्टराईले विद्युत् क्षेत्र, यातायात तथा भण्डारण, वित्तीय क्षेत्रले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै रोजगारीको अभिवृद्धि गरेको भन्दै आर्थिक रूपान्तरणबाट सबै नेपालीको जीवनस्थर उकास्न सहयोग पुग्ने गरी काम गर्नुपर्नेमा जोड दिए । विभागका प्रमुख कर्णबहादुर बुढाले पार्टीमार्फत सरकारलाई उपयुक्त सुझाव उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।