काठमाडौं । एनआईसी एसिया बैंकले प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा एक प्रतिशत प्रिमियम थप)मा सेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एसिया एथोट लोन अगेन्स्ट सेयर’को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा एक प्रतिशत प्रिमियम थप)मा यस सेयर कर्जा योजना सार्वजनिक गरेको हो ।
ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर यस बैंकमा धितो राखेर एक सय ८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्नसक्ने व्यवस्था बैंकले गरेको छ ।
यस कर्जामार्फत ग्राहकहरूलाई सहजरूपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरूप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपछिको तीन कार्यदिनभित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ ।
ग्राहकहरूको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्थाअनुरूप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको छ ।