काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको हो ।
कम्पनीले साधारण सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड लिमिटेडका तर्फबाट अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड लिमिटेड नेपालको अग्रणी स्थायी पुँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फन्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फन्ड नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धक हो । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड लिमिटेडले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत्, सूचना प्रविधि, कृषि र आतिथ्यजस्ता प्रमुख क्षेत्रहरूमा सञ्चालन हुने कम्पनीहरूमा पुँजी परिचालन गरिसकेको छ । यस संस्थालाई नेपालकै अग्रणी इन्स्योरेन्स संस्थाहरू हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्सका साथै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरीले प्रवर्द्धन गरेका छन् ।