काठमाडौं । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण आयोजना हुने भएको छ । राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा भदौ ३० गते काठमाडौंमा सो सम्मेलन हुने भएको हो ।
सम्मेलन आयोजनासम्बन्धी समझदारी पत्रमा मंगलबार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् । पहिलो संस्करणदेखि नै राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले निरन्तररुपमा सम्मेलन आयोजना गर्दै आएका छन् । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्दै युवा उद्यमशीलताको विकासमा सरकारले गरेका नीतिगत व्यवस्थाको प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । युवाहरुलाई उद्यमी बन्न प्रोत्साहित गर्न र स्टार्टअप उद्यमहरुलाई वित्तीय सहजीकरण गर्न सम्मेलन उपलब्धिमूलक हुने उनको भनाइ थियो ।
एनबीआईका कार्यकारी अध्यक्ष विशाल गैरेले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायले युवा उद्यमशीलता प्रवर्द्धनमा हालसम्म गरेका नीतिगत र कार्यक्रमगत उपलब्धिको चर्चा गर्दै भावी रणनीति बनाउन सम्मेलनले मार्गनिर्देशन गर्ने बताए । सम्मेलनमा युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ता, उच्चपदस्थ सरकारी अधिकारी र सरोकारवालासहित देशभरका पाँच सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने उनले जानकारी दिए । ‘युवा उद्यमशीलता : नीति, कार्यक्रम र कार्यान्वयन’ भन्ने मूल नारा रहेको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । साथै, सम्मेलनमा पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, दातृ संस्था र निजी क्षेत्रका उच्चपदस्त अधिकारीहरुको सहभागिता र साझेदारी रहने जनाइएको छ ।
युवाहरुमा वित्तीय पहुँच, सरकारी नीति, कर नीति, स्टार्टअप कार्यक्रम, स्टोरी सेयरिङ, समूहगत छलफल र स्टार्टअप बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो शिखर सम्मेलन महत्वपूर्ण हुने आयोजकको विश्वास छ ।