भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् । मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको र त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकहरु आएका चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतले जानकारी गराइन ।
प्रमुख बस्नेतका अनुसार चाँगुनारायणले विदेशी पर्यटकबाट एक करोड १९ लाख १० हजार ४०० राजस्व सङ्कलन गरेको छ । भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ३०० का दरले पर्यटन शुल्कबापत १७ लाख २६ हजार ८०० राजस्व सङ्कलन भएको छ । त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ४०० का दरले एक करोड एक लाख ८३ हजार ६०० सङ्कलन भएको छ ।
पर्यटन शुल्कबापत सङ्कलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताए ।