गण्डकी । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको बुधबार शुभारम्भ कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छिन् । उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरिन् ।
मन्त्री देउवाले आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राखिन । उनले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा जोड दिइन् । देउवाले पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको बताइन् ।
मन्त्री देउवाले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्नेगरी सहकार्य र समन्वयमार्फत दिगो विकासमा सबै केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइन् । जैविक विविधताको संरक्षणका लागि नेपालले महत्त्वपूर्ण योगदान गरिरहेको बताउँदै उनले पोखरामा सञ्चालित बगैँचा रिसोर्टले यस विषयलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गरिन् ।
“रिसोर्टमार्फत स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देशसमेत दिन खोजिएको छ । विदेशमा गरिने मेहनतले केवल पैसामात्र आर्जन हुने भए पनि यहाँ गरिने मेहनेतले स्वदेशमा योगदानसँगै इज्जत पनि प्राप्त हुन्छ”, मन्त्री देउवाले भनिन ।
नेपालमा आउने पर्यटकमध्ये ६८ प्रतिशत साहसिक पर्यटनको चाहना पोखरा आउने रहेको जनाउँदै गण्डकी प्रदेशका पूर्वमुख्यमनत्री खगराज अधिकारीले यही प्रदेशबाट पृथ्वीनारायण शाहले नेपालको एकीकरण, भानुभक्तले भाषाको एकीकरण गरेको उल्लेख गरे । उनले पोखरा प्रकृतिको उपहार भएको बताए ।
अंशुभरा ग्रुपका अध्यक्ष एवं गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले पर्यटन, उद्यमशीलता र रोजगारीका क्षेत्रमा नविनतम सोचका साथ अघि बढिरहेको बताए । अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक सौगात थापाले स्वदेशमा केही गर्नुपर्छ भन्ने सोचका साथ बगैँचा रिर्सोट स्पा सञ्चालनमा ल्याइएको धारणा राखे ।