काठमाडौं, गृह मन्त्रालयले रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरे र सिन्धुपाल्चोकका सीडीओ किरण थापालाई मन्त्रालयमा तानेको छ। गृहमन्त्री रमेश लेखकको स्तरिय निर्णयमा आधारित यो फेरबदलसँगै दुई जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीको नियुक्ति गरिएको छ। मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार, रूपन्देहीमा डा. टोकराज पाण्डे र सिन्धुपाल्चोकमा बन्धुप्रसाद बास्तोलालाई पठाउने निर्णय गरिएको हो।यता, गृह मन्त्रालयको प्रवक्ता पद भने अझै रिक्त छ।पूर्वप्रवक्ता सहसचिव रामचन्द्र तिवारीलाई असार ३१ गते अध्यागमन विभागको महानिर्देशक बनाएर सरुवा गरिएपछि आइतबारदेखि प्रवक्ताको पद खाली भएको हो।
सूत्रका अनुसार, हाल प्रवक्ताका लागि अध्यागमन विभागबाट मन्त्रालयमा तानिएका सहसचिव गोविन्द रिजाल र मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख जयनारायण आचार्यबीच प्रतिस्पर्धा छ।दुबै जना अघिल्लो कार्यकालमा काठमाडौंका सीडीओ भइसकेका कारण प्रवक्ताको जिम्मेवारी उनीहरूमध्ये एकलाई दिने गृह मन्त्रालयको तयारी छ।गृहमन्त्री लेखकले प्रवक्ताको टुंगो लगाउन ढिलाइ गरिरहेको बेला मन्त्रालयभित्र निर्णय प्रक्रिया, सञ्चार समन्वय र सूचना प्रवाहमा अन्योल देखिन थालेको छ।