काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक भएदेखि यता लगातार उकालो लागेर चार बर्ष पछि तीन हजार बिन्दुबाट माथि उक्लिएको शेयर बजार परिसुचक नेप्से तीन हजार बिन्दुबाट पुन ओर्लिएको छ । अघिल्लो दिन ३० दशमलव ४९ अंकले उकालो लागेर चार बर्ष यता कै उच्च बिन्दुमा पुग्न सफल भएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार ४७ दशमलव ९३ अंकले ओरालो लागेर २९ सय ५४ दशमलव १४ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ७५ अंकले ओरालो लागेर पाँच सय सात दशमलव ८४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा तीन सय २७ वटा कम्पनीहरुको एक लाख ४१ हजार एक सय २० पटकको कारोबारमा तीन करोड ६४ लाख १७ हजार सात सय ४२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार चार सय आठ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । सो मध्ये अन्य उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक भने खुम्चिएका छन् ।