काठमाडौं । प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तीर्थराज चिलुवाल नियुक्त भएका छन् । आन्तरिक राजस्व विभागको उपमहानिर्देशक रहेका चिलुवाललाई महानिर्देशक बनाउन अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर ल्याइएको थियो ।
उनी राजस्व चुहावट नियन्त्रणका लागि उपयुक्त पात्र हुन् । सोही विभागमा अनुसन्धान अधिकृतका रुपमा लामो समय काम गरेको अनुभव चिलुवालसँग छ । यद्यपि, उक्त विभाग खारेज गर्नुपर्ने सुझाव पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले गरेको थियो ।
खनाल नेतृत्वको समितिले खारेज गर्न सुझाव दिए पनि गैरकर राजस्व चुहावटासम्बन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने, साथै सरकारको विदेशी विनिमयसम्बन्धी कसुरको सम्बन्धमा जाँचबुझ र अनुसन्धान गर्ने अधिकार पनि विभागलाई नै छ । सोही कारण उक्त विभाग राजस्व चुहावट नियन्त्रणका लागि शक्तिशाली मानिन्छ । विभागका तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरे गत १५ असारमा निवृत्त भएपछि पद खाली थियो ।
वाणिज्य विभागको महानिर्देशक हुँदा चिलवालले धेरै क्षेत्रमा कारबाही गरेर जरिवाना तिराएका थिए । उनी सुनसरीको इटहरीमा अख्तियारको प्रमुख रहेर काम गर्दा सप्तरीका धेरै स्थानीय तह प्रमुख र उपप्रमुखलाई भ्रष्टाचार मुद्दा लागेको छ । त्यसपछि उनी मकवानपुरको प्रमुख, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । राजस्व समूहमा १७ वर्ष बढी बिताएका चिलवाल हक्की स्वभावका कर्मचारी हुन् ।