काठमाडौं । झापा इनर्जी लिमिटेडले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आइतबारबाट आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीका अनुसार आयोजना प्रभावितलाई तीन लाख ८० हजार एक सय ९० कित्ता आईपीओ र वैदेशिक रोजगारीमा रहेकालाई ५७ हजार २९ कित्ता साधारण सेयरको बिक्री खुला गरिएको हो । आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये एक लाख ९० हजार ९५ कित्ताका लागि झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा रहको आयोजनाको एक सय मिटर वरपर बस्ने नागरिकले र बाँकी एक लाख ९० हजार ९५ कित्ताका लागि सोही नगरपालिकाको आयोजनाको एक मिटरवरपरको क्षेत्रबाहेकमा बस्नेले आवेदन दिन सक्ने कम्पनी जानकारी दिएको छ । यसको लागि न्यूनतम १० देखि अधिकतम पाँच हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावितले साउन १४ देखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ १२ गतेसम्म लम्बिनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेकाले साउन १४ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म लम्बिनेछ । आयोजना प्रभावितले हिमालयन बैंकको दुधे, दमक–१, दमक–२, सुरुंगा शाखा कार्यालय, माछापुच्छे बैंकको सुरुंगा र दमक शाखा कार्यालय र कम्पनीको आयोजना स्थानबाट भौतिकरूपमा दरखास्त फाराम प्राप्त गर्न सक्नेछन् ।