काठमाडौं, ठगीको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार बुधबार छुटाइएको हो।काठमाडौं प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखा क्षेत्रबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार, ठगीसम्बन्धी उजुरीका आधारमा उनलाई हिरासतमा लिएर करिब १० दिनसम्म अनुसन्धान गरिएको थियो। अनुसन्धानपश्चात आवश्यक परेको खण्डमा उपस्थित हुनुपर्ने शर्तसहित अग्रवाललाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। प्रहरीले ठगी मुद्दामा अनुसन्धान जारी रहेको बताएको छ। अग्रवालमाथिको आरोपबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।