काठमाडौं । नेपाल धितोपत्र बोर्डले सागर डिस्टिलरी लिमिटेडलाई साधारण सेयर (आईपीओ) जारी गर्नको लागि अनुमति दिएको छ । चालू आर्थिक वर्ष लागेसँगै बोर्डले उत्पादन तथा प्रशोधन समूहतर्फ उक्त कम्पनीलाई पहिलो पटक साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको हो ।
बोर्डको अनुमतिअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १४ करोड ५२ लाख रुपैयाँबराबरको १४ लाख ५२ हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको हो । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार सो कम्पनीलाई सोमबार साधारण सेयर बिक्रीका लागि अनुमति दिइएको हो ।
बोर्डमा अझै पनि ७६ वटा कम्पनीहरूको साधारण सेयर स्वीकृतिको पर्खाइमा रहेको र सोमध्ये ३७ वटा जलविद्युत् कम्पनी रहेका छन् । यीबाहेक होटल तथा पर्यटनतर्फ चार, विकास बैंक र फाइनान्स कम्पनी एक/एकवटा छन् । लगानी कम्पनीतर्फ तीन, उत्पादन तथा प्रशोधनतर्फ १८, माइक्रो इन्स्योरेन्सतर्फ तीन कम्पनी साधारण सेयर जारी गर्नको लागि अनुमतिको पर्खाइमा रहेका छन् ।