वासिङटन । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी स्मार्टफोन निर्यातमा भारतले चीनलाई उछिनेको छ । एजेन्सीहरुका अनुसार पहिलोपटक भारतले चीनको स्थान खोस्दै पहिलो देश बनेको हो ।
अतिरिक्त शुल्कको कारण एप्पलले नयाँ दिल्लीमा स्मार्टफोन उत्पादन थालेपछि भारत अगाडि आएको हो । यो वर्षको दोस्रो त्रैमासिकमा अमेरिकामा भारतमा बनेका स्मार्टफोनले ४४ प्रतिशत हिस्सा ओगटेको बताइएको छ । गत वर्षको सोही समयमा यस्तो हिस्सा १३ प्रतिशत मात्र थियो । अनुसन्धान संस्था क्यानालिसले यससम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनअनुसार भारतमा उत्पादन हुने कुल स्मार्टफोन संख्यामा समेत वर्षगत तुलनामा २४० प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा चीनमा बनेका स्मार्टफोन निर्यातको हिस्सा भने घटेर २५ प्रतिशतमा आएको छ । एक वर्षअघिको सोही समयमा चीनमा बनेका ६१ प्रतिशत स्मार्टफोन अमेरिकामा निर्यात भएका थिए । योसँगै अमेरिकामा धेरै स्मार्टफोन निर्यात गर्नेमा भियतनाम दोस्रो र चीन तेस्रो स्थानमा पुगेका छन् ।