काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सम्पन्न गर्नका लागि देशभरका ७७ वटै जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ।पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पर्यवेक्षकहरूलाई जिम्मेवारी दिइएको हो।
श्रेष्ठका अनुसार पर्यवेक्षकहरूले जिल्ला कार्य समिति, सोही जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य र प्रदेश पदाधिकारीहरूसँग सम्पर्क र समन्वय गर्दै अधिवेशनको वातावरण तयार पार्नुका साथै अनुगमन र सहयोगको भूमिकामा रहनेछन्।त्यसैगरी, भ्रष्टाचारविरोधी कार्यक्रम सञ्चालन तथा आगामी आन्दोलन र पार्टी प्रवेश अभियानलाई प्रभावकारी बनाउने जिम्मा पनि उनीहरूलाई दिइएको छ।
"पर्यवेक्षकहरूले तत्काल आफ्नो जिम्मेवारी प्रारम्भ गर्नुका साथै नियमित रूपमा प्रतिवेदन पेश गर्नुपर्नेछ," श्रेष्ठले जानकारी दिए। पार्टीले यस कदममार्फत संगठनात्मक मजबुती, अनुशासन र अधिवेशन प्रक्रियालाई स्पष्ट तथा सशक्त बनाउने लक्ष्य लिएको बताइएको छ।
