काठमाडौं, नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ। रञ्जिता श्रेष्ठविरोधी पक्षको राष्ट्रिय भेलाबाट श्रेष्ठलाई हटाउँदै पार्टीको नयाँ अध्यक्षमा लालवीर चौधरी नियुक्त गरिएको छ।लालवीर चौधरी, जो रञ्जिता श्रेष्ठका पतिसमेत रहेका संरक्षक रेशम चौधरीका पिता हुन्, अब नाउपाको अध्यक्ष बनेका हुन्।
हिजो मात्र रञ्जितालाई पार्टी अध्यक्षको जिम्मेवारीसहित साधारण सदस्यसमेत नरहने गरी हटाइएको थियो।नव नियुक्त अध्यक्ष चौधरीले पार्टीलाई विधि र पद्धति अनुसार अगाडि बढाउन आफूहरू बाध्य भएर यस्तो निर्णयमा पुगेको बताएका छन्।“हामीले उहाँ (रञ्जिता) लाई टाढा राखेका होइनौं,” अध्यक्ष चौधरीले भने, “अहिले पनि भनेका थियौं, यहाँ आएर आफ्नो कुरा राख्नुस् भनेर। तर निकासको लागि मात्रै यो कदम चालिएको हो।”
उनका अनुसार, पार्टीको बैठक डेढ वर्षदेखि बसेको थिएन र संगठनात्मक जडान कमजोर बन्दै गएको थियो। यस्तो अवस्थाबाट पार्टीलाई निकाल्नका लागि केन्द्रीय समितिको सल्लाहमा नयाँ नेतृत्व चयन गरिएको चौधरीले स्पष्ट पारे। पार्टी विभाजनपछि दुवै पक्ष आ–आफ्नो हैसियत पुष्टि गर्ने प्रयासमा छन् भने आगामी दिनमा निर्वाचन आयोगमा दाबी–विरोधको प्रक्रिया अघि बढ्ने सम्भावना पनि देखिएको छ।