काठमाडौं । बैंकिङ क्षेत्रको सञ्चालन एवं व्यवस्थापन खर्च उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरुको तलब, भत्ता र कार्यालय व्यवस्थापन शीर्षकमा मात्र झण्डै एक खर्ब रुपैयाँ खर्च गरेका हुन् ।
हाल २० वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका १७ विकास बैंक र १७ फाइनान्स कम्पनीहरु सञ्चालनमा छन् । यी संस्थाहरुले आव २०८१/८२ को जेठ मसान्तसम्म कर्मचारीको तलब र भत्तामा ६० अर्ब २३ करोड ९० लाख र कार्यालय व्यवस्थापनमा ३८ अर्ब ६१ करोड ५० लाख रुपैयाँ समेत गरी कुल ९८ अर्ब ८५ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् ।
बैंक तथा फाइनान्स कम्पनीहरुले गरेको यो खर्च २०८०/८१ को जेठ मसान्तको तुलनामा चार अर्ब १२ करोड ९० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले कर्मचारीको तलब र भत्ताका लागि ५६ अर्ब ८३ करोड ३० लाख र कार्यालय व्यवस्थापनका लागि ३७ अर्ब ८९ करोड २० लाख रुपैयाँ समेत गरी कुल ९४ अर्ब ७२ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए ।
गत आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र कर्मचारीको तलब र भत्तामा ५३ अर्ब १३ करोड ३० लाख र कार्यालय व्यवस्थापनका लागि ३३ अर्ब २७ करोड १० लाख रुपैयाँ समेत गरी कुल ८६ अर्ब ४० करोड ४० लाख रुपैंयाँ खर्च गरेका छन् । यो खर्च आव २०८०/८१ को सोही अवधिको तुलनामा तीन अर्ब ५० करोड १० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा वाणिज्य बैंकहरुले कर्मचारीको तलब र भत्ताका लागि ५० अर्ब १६ करोड ५० लाख र कार्यालय व्यवस्थापनका लागि ३२ अर्ब ७३ करोड ८० लाख रुपैयाँ समेत गरी कुल ८२ अर्ब ८० करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए ।
त्यसैगरी, विकास बैंकहरुले भने आव २०८१/८२ जेठ मसान्तसम्ममा कर्मचारीहरुको पारिश्रमिकका लागि पाँच अर्ब ६२ करोड ६० लाख र कार्र्यालय व्यवस्थापनका लागि चार अर्ब २४ करोड ९० लाख रुपैयाँ समेत गरी कुल नौ अर्ब ८७ करोड ५० रुपैयाँ खर्च गरेका छन् । यो खर्च २०८०/८१ को सोही अवधिको तुलनामा ४६ करोड ४० लाख रुपैयाँले बढी हो ।
उक्त अवधिमा विकास बैंकहरुले कर्मचारीको पारिश्रमिकका लागि पाँच अर्ब ३३ करोड १० लाख र कार्यालय व्यवस्थापनका लागि चार अर्ब ८० लाख रुपैयाँ समेत गरी कुल नौ अर्ब ४१ करोड १० लाख रुपैयाँ खर्च गरेका थिए ।
फाइनान्स कम्पनीहरुले भने आव २०८१/८२ को अवधिमा कर्मचारीको तलब र भत्ताका लागि एक अर्ब ४८ करोड र कार्यालय सञ्चालनका लागि एक अर्ब नौ ५० लाख रुपैयाँसहित कुल दुई अर्ब ५७ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च आव २०८०/८१ को सोही अवधिको तुलनामा ९१ करोड रुपैयाँले कम हो ।
गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कर्मचारीको पारिश्रमिकका लागि एक अर्ब ३३ करोड ७० लाख र कार्यालय व्यवस्थापनका लागि एक अर्ब सात करोड ४० लाख रुपैयाँ समेत गरी कुल तीन अर्ब ४८ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए ।